कर्जा ग्राहकका लागि एनआईसी एशियाको छुट योजना



काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक शिथिलताका कारण बैंकका कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउने उद्देश्यले ऋणीहरुको जरिवाना तथा हर्जाना रकममा छुट र साधारण वक्यौता ब्याज रकममा छुट दिने भएको छ । बैंकले ल्याएको नयाँ प्याकेज अनुसार २०८० चैत मसान्तसम्मको भाखा नाघेका सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिनाभित्र भुक्तान गरेमा छुट तथा सहुलियत दिने भएको हो ।

जसअनुसार ९१ दिनदेखि १ सय ८० दिनसम्म भाखा नाघेका ऋणीहरुले जेठभित्रै कर्जा भुक्तान गरेमा १५ प्रतिशत छुट पाउने भएका छन् । यस्तै १ सय ८१ दिनदेखि ३ सय ६५ दिनसम्म भाखा नाघेका ग्राहकले २५ प्रतिशत छुट पाउने भएका छन् ।

यस्तै ३ सय ६५ दिनभन्दा धेरै अवधिको भाखा नाघेका ग्राहकका लागि बैंकले ३५ प्रतिशत छुट दिने भएको छ । मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहक यस योजनामा सहभागी हुनसक्ने बैंकले जनाएको छ ।

बैंकले ल्याएको यो छुट योजनाबाट आर्थिक शिथिलताका कारण समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सवलीकरणमा समेत टेवा पुग्ने विश्वास लिइएको बैंकका प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले बताए ।


क्लिकमान्डु