उपत्यकासहितका क्षेत्रमा हावाहुरीसहित वर्षा



काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा हावाहुरी र वर्षाले जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकोले उपत्यकासहितका स्थानमा वर्षा भएको हो ।

सोमबार दिउँसोसम्म अवस्था सामान्य रहे पनि साँझ हावाहुरीले उपत्यकाको जनवीवन पनि प्रभावित बनेको छ । हाल देशको कोशी प्रदेश, वागमती प्रदेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशका केही भाग, वागमती र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ । बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

साथै सोमबार राति पहाडी जिल्लाहरुमा आंशिकदेखि साधारण बदली भई बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।


क्लिकमान्डु