ब्रोकर कमिसन घटाउन अर्थको सहमति, जेठ १ देखि लागु हुनेछ यस्तो दर



काठमाडौं । सरकारले सेयर कारोबारमा लिइँदै आएको ब्रोकर कमिसन घटाएको छ । नेपाल धितोपत्र बोर्डको प्रस्तावअनुसार अर्थ मन्त्रालयले सहमति दिएसँगै जेठ १ देखि नयाँ दर लागु हुने भएको हो ।

नेपाल धितोपत्र बोर्डको आइतबार बसेको वैठकले जेठ १ देखि नयाँ दर कार्यान्वयन गर्ने निर्णय गरेको एक सञ्चालकले बताए । टीप्लस टुको अभ्यासअनुसार दुई दिनपछि नै कार्यान्वयन गर्न सकिने भएपनि बोर्डले नयाँ महिनादेखि लागु हुने गरी निर्णय गरेको हो ।

‘गत कात्तिकमै सञ्चालक समितिले ब्रोकर कमिसन घटाउने गरी नियमावली संशाोधन गर्ने निर्णय गरेको थियो तर अर्थ मन्त्रालयको सहमती पाउन सकिएको थिएन,’ ती सञ्चालकले भने, ‘अर्थको सहमति आएपछि घटेको कमिसन दर लागु गर्ने उचीत मिति तय गर्न बोर्ड वैठक बसेकामा लागु हुने मिति जेठ १ तय भएको छ ।’

जेठ १ गतेदेखि यस्तो शुल्क हाल कायम दरको १० प्रतिशत कम हुनेछ । हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख भन्दा माथि २० लाख रुपैयाँ सम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिशन लाग्दै आएको छ ।

अब अधिकतम ब्रोकर कमिसन ०.४ को १० प्रतिशत कम अर्थात् ०.३६ प्रतिशत कायम हुनेछ । यस्तै ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाख भन्दा माथि २० लाख रुपैयाँ सम्मको कारोबारमा ०.३१ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.२७ प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२४ प्रतिशत कायम हुनेछ ।


क्लिकमान्डु