अलगाववादी नेता निज्जर हत्या प्रकरणमा तीन भारतीय पक्राउ



काठमाडौं । भारतको सिख अलगाववादी नेता हरदीप सिंह निज्जरको हत्या प्रकरणमा क्यानाडा प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

क्यानाडा प्रहरीको अधिकारी मंदीप मूकरका अनुसार पक्राउ पर्नेमा २२ बर्षको करण बरार, सोही उमेरको कमलप्रित सिंह र २८ बर्षको करणप्रित सिंह रहेका छन् । उनका अनुसार पक्राउ परेका तीनैजना क्यानाडाको अल्बर्टा एडमाँन्टनमा बस्दै आएका थिए । सोहि स्थानबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

स्थानीय अदालतले उनीहरुमाथि तीनैजना माथि हत्याको साथै हत्या योजना बनाएको आरोप लगाइएको छ । प्रहरीले थप अनुसन्धान जारि रहेको र उनीहरुको भारतसँग कस्तो सम्बन्ध छ, त्यो बिषयमा पनि छानविन भइरहेको छ ।

असिस्टेन्ट कमिश्नर डेविड टेबोलले उक्त हत्या प्रकरणमा विभिन्न प्रकारको छानविन भइरहेको बताएका छन् । यो हत्या प्रकरणमा अन्य व्यक्तिहरुको पनि सहभागिता हुन सक्ने आशंका प्रहरीको छ ।

निज्जरको हत्यामा अभियोग लागेका तीन जना भारतीय नागरिकलाई क्यानाडा प्रहरीले क्यानाडाबाट पक्राउ गरेपनि अहिले फेरी भारत र क्यानाडाबीच राजनीतिक विवाद उत्पन्न भएको बताइएको छ ।

४५ बर्षीय निज्जरको गत बर्ष २०२३ को जुन १८ तारिखमा क्यानाडाको वैंकूवर नजिकै नकावधारी अज्ञात समूहले गोली हानेर हत्या गरिएको थियो । वैंकूवरभन्दा ३० किलोमिटर पूर्वी क्षेत्रको गुरु नानक सिख गुरुद्वारा निज्जरमाथि गोली प्रहार गरिएको थियो ।

त्यो वेला क्यानाडाको प्रधानमन्त्री जस्टिन ट्रुडोले यो हत्या प्रकरणमा भारतको संलग्नता भएको आरोप लगाएका थिए । उनले यो बिषयमा आफुसँग बलियो प्रमाणसमेत रहेको बताएका थिए ।

को हुन निज्जर ?

निज्जर सिख अलगाववादी नेता थिए । उनले सार्वजनिक रुपमा खालिस्तानको लागि काम गर्दैआएका थिए । उनले भारतमा छुट्टै स्वतन्त्र सिख राज्यको माग गर्दैआएका थिए ।

सन् १९७० को दशकमा सिखहरुको एक समूहले भारतमा अलगाववादी विद्रोह सुरु गरेका थिए । यो क्रममा हजारौं नागरिक मारिएका थिए । त्यो वेलादेखि सिख समुदायको बाहुल्यता भएको मुलुकहरुमा खालिस्तानको माग राख्दै आन्दोलन हुँदै आएको थियो ।

भारतले निज्जरलाई आतंकवादी भनेर घोषणा गरेको छ । भारतले निज्जरलाई चरमपन्थी अलगाववादीको संज्ञा दिएको छ ।

क्यानाडाको खुपिया एजेन्सीले निज्जरलाई हत्या हुन सक्ने उनलाई पहिलेदेखि नै चेतावनी दिदैं आएको थियो ।


क्लिकमान्डु