अग्निपीडितलाई सरकारले ५० हजार रुपैयाँ सहयोग गर्ने



काठमाडौं । सरकारले अग्निपीडितलाई दुई किस्तामा ५० हजार रुपैयाँबराबरको आर्थिक सहयोग उपलब्ध गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले प्राधिकरणको शुक्रबार बसेको बैठकले अग्निपीडितलाई उक्त रकम सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको समितिको २२ औँ बैठकले उक्त प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । यसका साथै बैठकले अग्निपीडितलाई अस्थायी बसोबासका लागि आवास निर्माण प्रक्रिया पनि शुक्रबारदेखि सुरु भएको पोखरेलले जानकारी दिए । यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो ।

‘विपद् प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८१’ अनुसार उक्त रकम प्रदान गरिनेछ । कार्यविधिअनुसार आगलागी, डढेलो, भूकम्प, बाढी, पहिरो, चट्याङ, हुरीबतासबाट घरबास गुमाएका परिवारलाई अस्थायी आवास बनाउन २५ हजारका दरले दुई किस्तामा रकम प्रदान गरिने छ ।


क्लिकमान्डु