रुस-युक्रेन युद्धको क्षति: युक्रेनको पुनर्निर्माणमा साढे ६ सय खर्ब रुपैयाँ लाग्ने



एजेन्सी । दुई वर्ष बितिसकेको छ, रुस-युक्रेन युद्ध भएको । युद्धका कारण दसौं हजार मानिस मारिए । ठूलो संख्यामा घाइते पनि भए । युद्धको चपेटामा परेका कतिपय सहरहरु रित्ता भइसके । तर अझै पनि यो त्रासदीपूर्ण युद्ध रोकिने कुनै संकेत देखिएको छैन ।

युद्धका कारण क्षतिग्रस्त भएका कैयौं भौतिक संरचना फेरि पुनर्निर्माण हुने सम्भावना लगभग छैन । दुई देशको स्वार्थबाट सुरु भएको यो युद्धले सिंगो विश्व समुदायलाई कुनै न कुनै रुपमा असर गरिराखेको छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा विशेष सैन्य अभियानको नाममा गरेको सैन्य आक्रमणका कारण युक्रेनमा १५२ अर्ब अमेरिकी डलरको प्रत्यक्ष क्षति भएको विश्व बैंकको आंकलन छ ।

तर उक्त क्षतिको पूनर्निर्माणका लागि ४८६ अर्ब अमेरिकी डलर (६ सय ४६ खर्ब नेपाली रुपैयाँ) आवश्यक पर्ने संयुक्त राष्ट्रसंघले जनाउँदै आएको छ । यद्यपि पश्चिमी देशहरुका प्रतिबन्धका बावजुद रुसले युद्ध र युद्ध सम्बन्धी गतिविधिका लागि आफ्नो अधिकतम स्रोतसाधन परिचालन गरिरहेको छ ।

२०२४ को सुरुमा इन्टरनेसनल रेस्क्यु कमिटी (आईआरसी) ले सार्वजनिक गरेको रिपोर्टका अनुसार लगभग १ करोड ४० लाखभन्दा बढी युक्रेनीहरुका लागि मानवीय सहायताको आवश्यकता छ । जसमध्ये झण्डै ४० लाख मानिसहरु आन्तरिक रुपमा विस्थापित भइसकेका छन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आन्तरिक रुपमा विस्थापित भएकाहरुका लागि पनि मानवीय सहायताको खाँचो छ ।

उक्त रिपोर्टका अनुसार २०२२ को फेब्रुअरीदेखि शैक्षिक संरचनाहरुमाथि ४ हजारभन्दा धेरै आक्रमण हुनुको साथै स्वास्थ्य सेवामाथि १ हजार ३ सयभन्दा धेरै आक्रमण भइसकेका छन् । जबकि १५ लाखभन्दा धेरै घरहरु नष्ट भइसकेका छन् ।
संयुक्त राष्ट्रसंघले २०२३ को डिसेम्बरमा सार्वजनिक गरेको रिपोर्ट अनुसार युक्रेनमा पुनर्निर्माण तथा नयाँ संरचना तयार पार्नका लागि मात्रै लगभग ४८६ अर्ब अमेरिकी डलर आवश्यक छ ।

आईआरसीको प्रतिवेदनले के खुलासा गरेको छ भने, अर्को एउटा देश रोमानियाको भूगोल जति क्षेत्र त बारुदी सुरुङले नै भरिएको छ । यस्तै किभस्थित आर्थिक रणनीति केन्द्र केन्द्र (सिईएस)का अनुसार युक्रेनमा युद्धभन्दा पहिले १० प्रतिशत रहेको बेरोजगारी दर युद्ध सुरुभएयता ३० प्रतिशतले वृद्धि भएको छ । यद्यपि पछिल्लो समय उक्त दर घटेर हाल बेरोजगारी दर १७ प्रतिशत रहेको बताइएको छ ।

युद्धको क्रममा भोकमरीको दर पनि बढेर १९.२ प्रतिशत पुगेको छ । यस्तै युद्ध सुरु भएयता व्यापार सन्तुलन बिग्रिएर नकारात्मक स्तरमा पुगेको छ । जुन डिसेम्बरसम्म शून्यदेखि ३.७ अर्ब डलर माइनसमा पुगिसकेको छ । युद्धकै कारण प्रारम्भिक चरणमा खाद्यान्न निर्यात व्यापक रुपमा प्रभावित भएको थियो । जबकि २०२२ जुलाइमा टर्की र संयुक्त राष्ट्रसंघको मध्यस्ततामा ब्ल्याक सी सम्झौतामा हस्ताक्षर गरेपछि निर्यातको अवस्था सुधारिएको बताइन्छ ।

यस्तै २०२१ मा ९.३६ प्रतिशत मुद्रास्फिति दर रहेको युक्रेनको वार्षिक मुद्रास्फिति दर २०२३ मा १२.८५ र २०२४ मा ६.४५ पुगेको छ । जवकि २०२३ को सुरुको तीन महिनामा १०.३ प्रतिशतको गिरावट आएपछि युक्रेनको अर्थव्यवस्थाले २०२३ को दोस्रो तीन महिनाको अवधिमा पहिलेको सकारात्मक जिडीपी वृद्धिदर १९.५ प्रतिशत पुर्‍याएको छ । जुन २०२३ को तेस्रो तीन महिनाको अवधिमा ९.३ प्रतिशत र अन्त्यमा ६.५ रह्यो ।

२०२४ मा मात्रै युक्रेनमा तत्काल पुनर्निर्माणका लागि मात्रै १५ अर्ब अमेरिकी डलर खाँचो रहेको हालै विश्व बैंकले जनाएको छ । साथै युद्ध सुरु भएयता युक्रेनमा १५२ अर्ब अमेरिकी डलर बराबरको प्रत्यक्ष क्षति भएको विश्व बैंकले जनाएको छ । विशेषगरी भवन, यातायात पूर्वाधार, उद्योग कलकारखाना, उर्जा र कृषि क्षेत्र बढी प्रभावित भएको बताइएको छ ।

के भएको छ रुसमा ?

रुसको वार्षिक मुद्रास्फिति दर भने युद्ध सुरु हुनुअघि लगभग ९ प्रतिशत थियो । तर युद्ध सुरु भएपछिको एक वर्षमा ११ देखि १७.८ प्रतिशतमा थियो । दोहोरो अंकको मुद्रास्फिति युद्धपछि रुसको केन्द्रीय बैंकको ब्याजदरमा वृद्धिका कारण यो २ देखि ३ प्रतिशतमा पुग्यो । २०२४ को सुरुतिर विस्तारै बढेर ७ प्रतिशत पुगेको छ ।

युक्रेनमा आक्रमणका लागि सैन्य उपकरण तैनाथी तथा संचालनका लागि रुसको युद्धको खर्च हालसम्म २११ अर्ब अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस्तै रुसी सेनाले ३ लाखभन्दा धेरै सैन्य हताहत गरेको बताइन्छ । जबकि युक्रेनी सेनाले कम्तीमा २० वटा मध्यम आकारका ठूला रुसी नौसेनाका जहाज डुबाउनुका साथै नष्ट वा क्षति पुर्‍याएको जनाएको छ ।

सैन्य खर्च बाहेक रुसको अर्थतन्त्र पश्चिमी देशहरुको प्रतिबन्ध तथा असहयोगका कारण नराम्ररी प्रभावित भएको बताइन्छ । रुसी केन्द्रीय बैंकसँग रहेको ३२० अर्ब अमेरिकी डलरभन्दा धेरै रकम युद्ध सुरु भए लगत्तै अष्ट्रेलियासहित जि ७ देशहरुले अवरुद्ध गरिदिएका छन् ।

यस्तै ७० प्रतिशत रुसी बैंकिङ पुँजी तथा १ हजार ५ सयभन्दा धेरै व्यक्ति तथा संस्थाको लगभग २१ अर्ब डलरभन्दा धेरै सम्पत्ति पश्चिमी प्रतिबन्धमा रहेको छ । यस्तै २०२२ मा रुसको आयात २८०.४ अर्ब डलर थियो भने गत वर्ष २८५ अर्ब डलर थियो । यससँगै रुसले युक्रेनविरुद्ध विशेष सैन्य अभियान सुरु गरेपछि रुसका थुप्रै क्षेत्रहरुमाथि हुने सहयोग प्रतिबन्ध वा खारेज गरिएका छन् । विशेषगरी लगानी तथा साझेदारीका अधिकांश कार्यक्रम रद्द भइसकेका छन् ।

यद्यपि रुसको सैन्य वा युद्ध सम्बन्धी खर्च हरेक वर्ष २९ प्रतिशतका दरले बढिरहेको छ । जुन पछिल्लो बजेट १४० अर्ब डलरको हुने आंकलन गरिएको छ । २०२४ मा मात्रै रुसी सेनाको खर्च कुल सरकारी खर्चको ३५ प्रतिशत हुने विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् । विभिन्न आर्थिक चुनौतीका बावजुद रुसले सैन्य तथा युद्ध सम्बन्धी खर्चमा ठूलो रकम खर्च गरिरहेको बताइन्छ ।

द्धन्द्ध वा युद्धको अवधिमा कुनै देशको उत्पादन क्षमता तथा वितरण व्यवस्थाको सञ्जाललाई युद्ध अर्थतन्त्र भनिन्छ । युद्ध अर्थतन्त्रले विशेषगरी सैन्य वा युद्ध सम्बन्धी उत्पादन तथा खर्चलाई प्राथमिकतामा राखेको हुन्छ । साथै युद्ध सामग्री वितरण तथा उत्पादनमा यसको जोड हुने गर्छ । युद्धको समयमा सम्बन्धित देशले अन्य आवश्यक क्षेत्रमा गरिने खर्चलाई पनि कटौती गर्दै रक्षा सम्बन्धी खर्चमा जोड दिएका हुन्छन् । फलस्वरुप यस अवधिमा शिक्षा स्वास्थ्य लगायतका अत्यावश्यक क्षेत्रको बजेट पनि प्रभावित हुने गर्छ ।

यससँगै मूल्यवृद्धि तथा खाद्यान्न अभाव लगायतका समस्या आम नागरिकले भोग्नु परेको हुन्छ । दोस्रो विश्वयुद्धको अवधिमा पनि अमेरिका, जापान र जर्मनीले व्यापक रुपमा युद्धमा खर्च गरेका थिए । त्यसबेला पर्ल हार्बरमा जापानको आक्रमणपछि अमेरिकी सरकारले आफ्नो अर्थतन्त्रमा व्यापक रुपमा फेरबदल गरेको थियो । यही अवस्था हाल रुस युक्रेन युद्धमा पनि देखिएको छ । पछिल्लो समय इजरायल इरानबीच जारी द्वन्द्वले पनि अन्य क्षेत्रमा असर पार्नसक्ने देखिन्छ ।


क्लिकमान्डु