श्रम मन्त्रालयले ल्यायो श्रमाधान योजना, सातवटा क्षेत्रहरूसँग सम्बन्धित कार्यक्रमहरु समावेश



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम र रोजगारी सम्बन्धी श्रमाधान योजना घोषणा गरेको छ । बुधबार १३५ ‌औं श्रमिक दिवसको अवसर पार्दै मन्त्रालयले श्रमाधान योजना घोषणा गरेको हो ।

श्रम मन्त्री डोलप्रसाद अर्यालले दुई महिनाको अध्ययनपछि श्रमाधान ल्याएको बताए । उनकाअनुसार मन्त्रालयले यसअघि नै कल सेन्टर सञ्चालनमा ल्याइसकेको छ । त्यस्तै उक्त सेवालाई वृहत र एकद्वार प्रणालीमा लैजाने उद्देश्यसहित श्रमाधान योजना ल्याएको हो ।

श्रमाधान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बृहत र व्यवहारिक योजना रहेको उनको भनाइ छ । यसले नेपाली नागरिकको श्रम र रोजगार सम्बन्धी बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको उनले बताए ।

श्रमाधानको पहिलो चरणमा सातवटा क्षेत्रहरूसँग सम्बन्धित कार्यक्रमहरु समावेश गरिएका छन् । इन्द्रेणीका सात रङ्गहरूसँग मेल खाने गरी प्रत्येक कार्यक्रमलाई एक विशेष रङ्गसँग जोडिएको छ, जसले प्रत्येक कार्यक्रमको उद्देश्य र महत्वलाई प्रतिविम्वित पनि गर्दछ ।

श्रमाधान नेपाली श्रमिकका समस्या समाधान र श्रम बजारमा सुधार ल्याउन मन्त्रालयले प्राथमिकताका साथ सुरुवात गरिएको कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्री अर्यालका अनुसार यो योजनामा सेकेन्ड इनिड्समार्फत् ‘अवकाश पछिको आरम्भ’ नाराका साथ श्रमाधान वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमै अवकाश प्राप्त नागरिकहरूको सीप, श्रम, र अनुभवलाई पुनः सक्रिय बनाउन मद्दत गर्ने एक विशेष पहल हो । यस कार्यक्रमले सेवानिवृत्त व्यक्तिहरूलाई आफ्नो अनुभव र कौशललाई प्रयोग गरी नयाँ रोजगारी, स्वयंसेवा वा उद्यमशीलताका विभिन्न अवसरहरूमा संलग्न हुन सहयोग पुऱ्याउने उनको विश्वास छ ।

त्यस्तै रोजगार बैंकमार्फत् ‘पेशागत यात्राको सहयात्री’ नाराका साथ श्रमाधान रोजगार बैंकको उद्देश्य रोजगारदाता र रोजगारी खोज्ने बीचका बहुआयामिक पक्षको समन्वयात्मक सेतु बनी आन्तरिक र विश्व श्रम बजारमा नेपाली श्रमिकको सुव्यवस्थित, सबल र बृहत प्रतिनिधित्व गर्दै रोजगारीका अवसरहरूलाई व्यापक बनाउनु भएको उनले बताए । यस कार्यक्रमले श्रमिकहरूलाई श्रम बजारमा प्रतिस्पर्धी हुन आवश्यक कौशलको विकास तथा पेशागत उन्नतिका लागि चाहिने स्रोत र साधन प्रदान गर्दछ ।

समतामा ‘विविधताको एकता श्रममा समता’ नाराका साथ श्रम क्षेत्रमा लैङ्गिक, भौगोलिक, वर्गीय, जातीय तथा अन्य कारणले मुलधारमा आउन नसकेका नागरिकहरुको पहिचान गर्दै श्रमको उच्च सम्मानको संस्कृति विकास गर्ने र श्रमको प्रकृया वा अन्य चरणमा व्यक्तिको व्यक्तिगत हक तथा अधिकार सुनिश्चित गर्दै समानताको प्रत्याभुति गर्ने उदेश्य श्रमाधान समता कार्यक्रमको छ । यसले विशेष आवश्यकता रहेको वर्ग तथा समुदायको हकमा खास सुविधा प्रदान गरेर समानताको प्रत्याभूति दिने कुरालाई पनि समेट्नेछ ।

ल मा ‘श्रम सम्बन्धी कानुन सबैले जानुन’ नारासहित श्रमाधान ल श्रमिकहरूलाई उनीहरूका कानूनी अधिकारहरू र कर्तव्यहरू बुझाएर श्रमको यात्रामा कानुनी रूपमा सुरक्षित बनाउने कार्यक्रम हो । यस कार्यक्रमले श्रमिकहरूलाई श्रम कानूनका विभिन्न पक्षहरूमा सुसुचित गराई भविष्यमा हुनसक्ने श्रम विवाद र यसका अदालती प्रक्रियाका लागि तयार गराउँछ । यो कार्यक्रम विशेष गरी श्रमिकहरूको कानूनी ज्ञानलाई बढाउने र कामको स्थानमा सामना गर्नुपर्ने चुनौतीहरूलाई सहजतापूर्वक समाधान गर्न मद्दत पुऱ्याउने ध्येयका साथ ल्याइएको हो ।

त्यस्तै मन्त्रालयले कनेक्ट क्षेत्रमा ‘भोलीको तयारी, आजैबाट ‘ नाराका साथ ग्लोबल ट्रेन्ड र चेन्जमा आधारित भएर श्रमको नयाँ विविधतासँग जोड्नु श्रमाधान कनेक्ट कार्यक्रमको उद्देश्य हो । यो कार्यक्रम नेपालबाट विदेश जाने श्रमिक, विदेशमा काम गरिरहेका नेपाली श्रमिक र गैर आवासीय नेपालीहरूलाई एउटै धागोमा जोडेर नेपालीहरूको दक्षता र विज्ञता विकासमा आधारित हुनेछ ।

त्यसैगरी साथ “हामी छौं ‘ मा श्रमाधान साथ देश भित्र र विदेशमा काम गर्ने श्रमिकहरू र उनीहरूका परिवारहरूको
मानसिक स्वास्थ्यलाई केन्द्रविन्दुमा राखी बनाइएको कार्यक्रम हो । यो कार्यक्रम तनाव व्यवस्थापन, मनोसामाजिक सहयोग र सांस्कृतिक समन्वय जस्ता श्रमिक र श्रमिकको परिवारको मानसिक स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न केन्द्रीत हुनेछ ।

साथै कल सेन्टर ‘समस्याहरूको सम्बोधन, तुरुन्तै ‘ नारासहित नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरुको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बन्धित निकायसम्म पुऱ्याएर समाधान गर्ने सुविधा हो ।

मन्त्रालयले उक्त कार्यक्रमहरू चरणबद्ध रूपमा अढाउने तयारी गरेको छ । जसमा पहिलो चरणमा श्रमाधान एप, विदेशमा आधारित सीप लाइन र आइभीआर सुविधा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

दोस्रो चरणमा मन्त्रालयले आर्टिफिसियल इन्टिलिजेन्समा आधारित च्याटबट, एफएक्यू भिडियो एक्स्प्लेनर, टाइम कार्ड र कि परफर्फमर इन्डिकेटर सञ्चालनमा ल्याउने तयारी गरेको मन्त्रीले बताए।


क्लिकमान्डु