आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने



काठमाडौं । आइएमई ग्रुप र इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् ।

आइएमई ग्रुपमा मङ्गलबार आयोजित कार्यक्रममा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र पिटी पिएलएन नुसन्तराका निर्देशक मुहम्मद रेजा बिच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

पिटी पिएलएन नुसन्तरा इन्डोनेसिया सरकारको स्वामित्वमा रहेको ऊर्जा विकास कम्पनी हो । यस समझदारी अन्तर्गत, पिटी पिएलएनले आफ्नो विशेषज्ञताका आधारमा नेपालमा नवीकरणीय ऊर्जा परियोजनाहरूको विकासका लागि थप अध्ययन तथा विश्लेषण गर्नेछ ।

पिटी पिएलएनले स्थानीय तथा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पावर प्लान्टको सञ्चालन तथा मर्मत सम्भारमा विशेषज्ञता हासिल गरेको छ । यसले सिंगापुर, मलेसिया, कुवेत, चीन र साउदी अरब लगायतका देशहरूमा सेवा विस्तार गरिसकेको छ ।

आईएमई ग्रुपका अध्यक्ष ढकालले नेपालको ऊर्जा उत्पादनमा थप अवसरहरू खोल्न नयाँ साझेदारीले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बढ्दो ऊर्जा मागलाई सम्बोधन गर्न तथा यस क्षेत्रको दिगो विकासलाई सघाउन इन्डोनेसियाको विशेषज्ञता तथा अनुभवलाई यो समझदारी मार्फत उपयोग गर्न सकिनेमा विश्वस्त रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

आइएमई ग्रुपले जलविद्युत, बैंकिङ, बीमा, पर्यटनपूर्वाधार र सूचना प्रविधि लगायतका क्षेत्रहरूमा लगानी विस्तार गरिरहेको छ ।


क्लिकमान्डु