नेपाल जग्गा आवास तथा विकास महासंघले नेपाल रियल इस्टेट सम्मेलन गर्दै



काठमाडौं । नेपाल जग्गा आवास तथा विकास महासंघले नेपाल रियल इस्टेट सम्मेलन आयोजना गर्ने भएको छ । महासंघले मंगलबार पत्रकार सम्मेलन गरेर नेपाल रियल इस्टेट कन्फरेन्स २०२४ बारे जानकारी दिने भएको हो ।

पछिल्लो समय घरजग्गा क्षेत्रमा देखिएको समस्याबारे छलफल तथा अन्तर्क्रिया सम्मेलनमा हुने छ ।

विगत २ वर्षदेखि घरजग्गा कारोबार मन्दी छाएको अवस्था छ । अर्थतन्त्रमा देखिएको समस्याका कारण हालसम्म घरजग्गा कारोबार उल्लेख्य बढ्न सकेको छैन । जसले गर्दा घरजग्गा व्यवसायीहरु चिन्तित छन् ।

घरजग्गा व्यवसायीहरुले गत मंसिरपछि घरजग्गा कारोबार बढ्ने अपेक्षा गरेका थिए । तर अपेक्षाकृत कारोबार हुन नसकेपछि सकारात्मक सन्देश दिनका लागि पुसमा रियल ईस्टेट मेला आयोजना भएको थियो । सो मेलाबाट घरजग्गा कारोबार बढ्न गई अर्थतन्त्र चलायमान हुने अपेक्षा व्यवसायीको थियो ।

व्यवसायीहरुले अनुमान गरेअनुसार भने बजारमा सुधार हुन सकेको छैन ।

दुई वर्ष अघिसम्म मासिक ७० हजार हाराहारीमा किनबेच हुने गरेको घरजग्गा अहिले ५० हजार पनि किनबेच हुन नसकेको अवस्था छ । त्यस्तै व्यवसायीहरुले घरजग्गा कारोबारमा सुधार आउन नसकेपछि सरकारलाई विभिन्न चरणमा घरजग्गा कारोबारलाई सहजीकरण गर्ने व्यवस्थाका लागि ध्यानाकर्षण गराउँदै आएका छन् । अर्थतन्त्रमा देखिएको समस्याका कारण सर्वसाधारणमा लगानी गर्न आत्मविश्वास बढ्न सकेको छैन ।

महासंघले विभिन्न समयमा सरकारी अधिकारीहरुलाई भेटेर राष्ट्र बैंकले लिएको नीतिले कारोबार बढ्न नसकेको बताउँदै आएका छन् । उनीहरुले लोन टु भ्यालु रेसियो ७० प्रतिशत पुर्‍याउनुपर्ने माग गर्दै आएका छन् । त्यसैगरी, आम्दानीको स्रोतको ईएमआई शतप्रतिशत हुनुपर्ने उनीहरुको माग छ ।

राष्ट्र बैंकले लोन टु भ्यालु रेसियो ७० प्रतिशत र ईएमआई शतप्रतिशत नबनाएसम्म घरजग्गा कारोबार बढ्न नसक्ने व्यवसायीहरुको भनाइ छ । त्यस्तै, सरकारले सहज नीति अपनाएमा विस्तारै आत्मविश्वास बढेर कारोबारमा सुधार आउने व्यवसायीहरुको दाबी छ ।


क्लिकमान्डु