जुनसुकै पालिकाका भए पनि सिफारिस लिएर आउनेले महानगरका अस्पतालमा नि:शुल्क उपचार पाउने: बालेन



काठमाडौं । काडमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन) ले देशका जुनसुकै पालिकाका भए पनि अशक्त र गरिब नागरिकले महानगरमा आवद्ध रहेका अस्पतालबाट नि:शुल्क उपचार सेवा लिन सक्ने जनाएका छन् ।

मेयर शाहले आइतबार बिहान सामाजिक सञ्जालमार्फत बिरामीहरूलाई आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगरमा आउन आग्रह गरेका हुन् ।

‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला,’ शाहले भनेका छन्, ‘ हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार नि:शुल्क उपचार हुनेछ । तपाईको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।’

त्यसका लागि ११८० नम्बरमा वा काठमाडौँ महानगर स्वास्थ्य विभागमा सम्पर्क गर्न उनले अनुरोध गरेका छन् ।


क्लिकमान्डु