११ महिनामा १९ अर्ब ७५ करोडको विदेशी लगानी भित्रियो



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ११ महिनामा १९ अर्ब ७५ करोड ६४ लाख रुपैयाँ विदेशी लगानीबापत नेपालमा बैंकिङ प्रणाली मार्फत भित्रिएको बताएका छन् ।

राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवका अवसरमा उनले यस्तो बताएका हुन् । राष्ट्र बैंकलाई पूर्वजानकारी गराएर विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउने व्यवस्था अन्तर्गत २०८० वैशाखदेखि फागुन मसान्तसम्म १९१ वटा लिखित जानकारीबाट १९ अर्ब ७५ करोड ६४ लाखबराबरको स्वीकृत विदेशी लगानी बैंकिङ प्रणालीमार्फत नेपाल भित्रिएको बताए ।

उनले यो अवधिमा सेयर स्वामित्व परिवर्तनमार्फत हुने विदेशी लगानी र नेपाल राष्ट्र बैंकको स्वीकृति लिन-पूर्व जानकारी गराउन छुट भएका उद्योग-कम्पनीको विदेशी लगानीको समर्थनबापत ६१ वटा नेपाली उद्योग-कम्पनीलाई ४ अर्ब ७६ करोड २१ लाखबराबरको विदेशी मुद्रा नेपाल भित्र्याउन स्वीकृति प्रदान गरिएको बताए ।

अधिकारीले यो अवधिमा ९७ वटा नेपाली उद्योग-कम्पनीमा भएको ८ अर्ब १२ करोड ७४ लाखबराबरको विदेशी पुँजीस्वरूप प्राप्त भएको छ ।

यो अवधिमा पाँच वटा विदेशी लगानी भएका नेपाली उद्योग-कम्पनीलाई २२ करोड ७५ लाखबराबरको विदेशी ऋण भित्र्याउने स्वीकृति प्रदान गरिएको अधिकारीले बताए ।

३० पटकमा नेपाली उद्योग-कम्पनीमा भएको २१ अर्ब ८७ करोड १९ लाखबराबरको विदेशी ऋण लेखाङ्कन गरिएको छ । यो अवधिमा विदेशी लगानी तथा विदेशी ऋणसँग सम्बन्धित लाभांशलगायतको रकम विदेश फिर्ता लैजानका लागि १५२ वटा निवेदन पेस भएकोमा त्यस बापत २० अर्ब ४९ करोड १५ लाखबराबरको विदेशी मुद्रा सटही स्वीकृति प्रदान गरिएको अधिकारीको भनाइ छ ।

विदेशी विनिमय लगानी गर्ने क्रममा उत्पन्न हुने विभिन्न प्रकारका जोखिम न्यूनीकरण गर्नको लागि रिक्स म्यानेजमेन्ट फ्रेमवर्क २०२३ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको अधिकारीले जानकारी गराए ।


क्लिकमान्डु