यो वर्षको आर्थिक वृद्धिदर औसत मात्र हुन्छः गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो वर्षको आर्थिक वृद्धिदर औसत मात्र हुने बताएका छन् ।

राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवका अवसरमा उनले यस्तो बताएका छन् । उनले अहिलेको अर्थतन्त्र मिश्रित अवस्थामा रहेको बताए ।

कार्यक्रममा अधिकारीले आर्थिक वर्ष २०८०/८१ मा समयमै रोपाइँ भएको, मौसम अनुकूल नै रहेको र मलको आपूर्ति सहज रहेका कारण कृषि उत्पादनको वृद्धिदर सन्तोषजनक रहने उल्लेख गरे ।

करिब ६०० मेगावाटको थप जलविद्युत् उत्पादन र पर्यटन क्षेत्रमा आएको सुधारका कारण चालु वर्षमा आर्थिक वृद्धिदर औसत स्तरमा रहने अधिकारीको भनाइ छ । सरकारको पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसकिरहेको र पछिल्ला वर्ष उल्लेख्य सङ्ख्यामा वैदेशिक रोजगारी र अध्ययनको लागि युवाहरू विदेशिएकाले आन्तरिक माग भने शिथिल रहेको छ ।

निर्माण, व्यापार र उत्पादनमूलक उद्योगहरू आर्थिक शिथिलताबाट बढी प्रभावित भएका छन् । आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमा रहेको हुँदा निष्क्रिय कर्जा अनुपात केही बढेको छ ।

कार्यक्रममा उनले अघिल्लो आर्थिक वर्ष जस्तै चालु आर्थिक वर्षमा पनि विप्रेषण आप्रवाह उच्च रहेको उल्लेख गरे ।

विप्रेषण आप्रवाह उल्लेख्य बढेको तथा आयात घटेकोले चालु खाता एवम् शोधनान्तर बचत कायम भई तरलता व्यवस्थापन गर्न र ब्याजदरमा परेको चाप कम गर्न सहयोग पुगेको उनको भनाइ छ ।

उपलब्ध तरलता र कर्जाको घट्दो ब्याजदरका कारण आर्थिक गतिविधि बढाउने आधार सिर्जना भएको उनको भनाइ छ ।


क्लिकमान्डु