राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई गर्यो सम्मान, अन्य को को परे ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई सम्मान गरेको छ ।

राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा धेरै विप्रेषण भित्र्याउने तीन वटा बैंकलाई सम्मान गरेको हो । जसमा ग्लोबल आइएमई, हिमालयन र नेपाल एसबिआई बैंक रहेका छन् ।

नेपाल भित्रिएको रेमिट्यान्समा ग्लोबलले २१.१ प्रतिशत, हिमालयनले २०.६ प्रतिशत र नेपाल एसबिआईले १९.१ प्रतिशत विप्रेषण भित्र्याएका छन् ।

राष्ट्र बैंकले धेरै विप्रेषण भित्र्याउने बैंक मात्रै नभएर रेमिट्यान्स कम्पनीलाई पनि सम्मान गरेको छ । बैंकले २७.५ प्रतिशत विप्रेषण भित्र्याउने आइएमईलाई, १४.९ प्रतिशत बिप्रेषण भित्र्याउने सिटी एक्सप्रेस मनि ट्रान्सफरलाई सम्मान गरेको छ । १८ वाणिज्य बैंक र ५ विकास बैंक तथा अरू २३ वटा कम्पनीले विप्रेषण कारोबार गर्ने अनुमति पाएका छन् ।

विद्युतीय भुक्तानी सेवा प्रदायकमध्ये प्रोत्साहतस्वरूप खल्ती र ईसेवा सम्मानित भएका छन् । यस्तै ६९ औं वार्षिकोत्सवको अवसरमा राष्ट्र बैंकले पूर्वगभर्नर दीपेन्द्र पुरूष ढकाललाई सम्मान गरेको छ । ढकाल २०५७ भदौ १२ देखि चैत २७ सम्म केन्द्रीय बैंकका गभर्नर रहेका थिए ।

बार्षिकोत्वसको अवसरमा कार्यकारी निर्देशक विश्रुत थापा तथा निर्देशकद्वय डा. डिल्लीराज पोखरेल र लक्ष्मीप्रसाद प्रसाईले दीर्घसेवा पदक पाएका छन् ।

यस्तै सर्वोत्कृष्ट १ जना र ४ जना उत्कृष्ट कर्मचारी पुरस्कृत भए । कुल ११४७ कर्मचारीमध्ये सर्वोत्कृष्ट निर्देशक किरण पण्डित र उत्कृष्ट हरू सिद्धार्थनगर कार्यालयका सुबराती पठान, टक्सार महाशाखामा श्यामकुमार श्रेष्ठ, जनकपुर कार्यालयका प्रियंका ठाकुर, कानुन महाशाखाका सुमन आचार्य रहेका छन् ।


क्लिकमान्डु