नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य नाफा १४.८९ प्रतिशतले ऋणात्मक



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य नाफा १४.८९ प्रतिशतले ऋणात्मक रहेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्मको वित्तीय प्रतिवेदनमा ५ अर्ब ८ करोड रुपैयाँ अर्थात् १४.८९ प्रतिशतले वितरणयोग्य नाफा ऋणात्मक देखिएको हो ।

जबकी, गत वर्षको यसै अवधिमा वितरणयोग्य नाफा १ अर्ब २७ करोड अर्थात् ३.७५ प्रतिशतले ऋणात्मक थियो । संभावित जोखिम व्यवस्थाका लागि छुट्याउनु पर्ने रकम ह्वात्तै बढेपछि बैंकको वितरणयोग्य नाफा उल्लेख्य मात्रामा घटेको हो । २०७९ चैत मसान्तसम्ममा ७० करोड १९ लाख रुपैयाँ रहेको प्रोभिजन २०८० चैतमा ह्वात्तै बढेर ३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

गत वर्षको चैतमा ४१ करोड ७९ लाख रुपैयाँ उठ्न बाँकी रहेको ब्याज यो चैतमा बढेर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, गैरबैंकिङ सम्पत्तिका लागि गर्नुपर्ने प्रोभिजन पनि ह्वात्तै बढेको छ । गत वर्षको चैतमा २१ करोड ७० लाख रुपैयाँ रहेको गैरबैंकिङ सम्पत्तिको प्रोभिजन बढेर ९२ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाए पनि प्रोभिजन ह्वात्तै बढेका कारण वितरणयोग्य नाफामा ठूलो असर गरेको हो ।

२०८० चैत मसान्तसम्ममा बैंकले ४ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा २९ अर्ब ८४ करोड रुपैयाँ छ । बैंकको कुल पुँजी ५८ अर्ब ८९ करोड रुपैयाँ छ ।

यो बैंकको कुल ऋणको ४.६६ प्रतिशत निष्क्रिय कर्जा रहेको छ ।


क्लिकमान्डु