कामना सेवा विकास बैंकको वितरणयोग्य नाफा ३ गुणाले बढ्यो



काठमाडौं । कामना सेवा विकास बैंकको वितरणयोग्य नाफा ३ गुणाले बढेको छ । ०७९ चैत मसान्तमा ८ करोड रुपैयाँ रहेकोमा ०८० चैत मसान्तमा बैंकको वितरणयोग्य नाफा २८ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

यो चैत मसान्तको नाफाबाट बैंकले सेयरधनीलाई ११.६८ प्रतिशत लाभांश दिनसक्छ । जबकी, गत वर्षको चैतमा लाभांश क्षमता ३.४१ प्रतिशत मात्रै थियो । ३ अर्ब २८ करोड चुक्ता पुँजी भएको बैंकको १ अर्ब ४० करोड रुपैयाँ रिजर्भ छ ।

एक वर्षको अवधिमा बैंकको निक्षेप ३ अर्ब ८० करोडले बढेर ५७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ भने कर्जा १ अर्ब ५० करोड रुपैयाँले बढेर ४५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह सुस्त हुँदा बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी जम्मा ७ करोड रुपैयाँले घटेको छ ।

यो अवधिमा बैंकको कुल निष्क्रिय कर्जा केही बढेको छ भने खुद निष्क्रिय कर्जा केही घटेको छ। ०७९ चैतमा ३.२७ प्रतिशत रहेको निष्क्रिय कर्जा ०८० चैतमा केही बढेर ३.५५ प्रतिशतमा पुगेको छ । त्यस्तै, ०७९ चैतमा १.४२ प्रतिशत रहेको खुद निष्क्रिय कर्जा केही घटेर १.१३ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकले नै गत माघ महिनादेखिको बैंकहरको तथ्यांकमा खुद निष्क्रिय कर्जा राख्न थालेको छ ।

गत वर्षको चैतसँग तुलना गर्दा यो चैतमा बैंकको लागत घटेको छ । जसकारण ऋणीलाई ब्याजदर सस्तो परेको छ । ०७९ चैतमा ९.९७ प्रतिशत रहेको लागत ०८० चैतमा घटेर ७.८२ प्रतिशतमा खुम्चिएको छ । त्यस्तै, स्प्रेडदर पनि ४.७८ प्रतिशतबाट घटेर ४.५९ प्रतिशत सिमित भएको छ । बैंकको आधार दर १२.५६ प्रतिशतबाट घटेर १०.०९ प्रतिशत झरेको छ ।


क्लिकमान्डु