आर्थिक संकुचनको असरः बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेर साढे ४० अर्बमा सीमित



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेर ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा ४७ अर्ब १ करोड ५३ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।
पछिल्लो समय अर्थतन्त्रमा देखिएको मन्दी, आर्थिक गतिविधि सुस्त हुनु, व्यापार व्यवसाय नफस्टाउनु, कर्जाको माग निकै सुस्त हुनुको प्रत्यक्ष असर बैंकहरुको नाफामा परेको हो ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैैंकमध्ये ७ वटा बैंकको नाफा बढेको छ भन बाँकी १३ वटा बैंकको नाफामा भारी गिरावट आएको छ । २० वटा बैंकमा १८ वटा बैंकको नाफा अर्ब बढी रहेको भएपनि २ वटा बैंक नाफा आर्जनमा अर्ब क्लबमा पर्न सकेनन् । अर्बपति क्लबमा पर्न नसक्ने बैंकमा नेपाल बैंक र माछापुच्छे« बैंक रहेका छन् ।

नेपाल बैंकले चैत मसान्तसम्म १३ करोड ५ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९२.६८ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ७८ करोड २३ लाख २९ हजार रुपैयाँ रहेको थियो।

यस्तै नाफा ३६.७३ प्रतिशतले घट्दा माछापुच्छ्रे बैंकको कमाइ ८५ करोड ५४ लाख ४६ हजार रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिमा १ अर्ब ३५ करोड १९ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

चैत मसान्तसम्म धेरै नाफा नबिल बैंकले आर्जन गरेको छ । बैंकले नौ महिनामा ४ अर्ब ६६ करोड ८० लाख २९ हजार नाफा आर्जन गरेको छ । दोस्रोमा रहेको ग्लोबल आइएमई बैंकले ३ अर्ब ३० करोड ६५ लाख ५२ हजार नाफा आर्जन गरेको छ ।

नाफा बढाउने बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैैंक रहेका छन् ।


क्लिकमान्डु