एनआईसी एशिया लघुवित्तले ऋणीलाई ब्याज र अन्य छुट दिने



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ऋणी सदस्य तथा कर्जा ग्राहकलाई परेको असरलाई न्यूनीकरण गर्न ब्याज तथा अन्य छुट दिने भएको छ ।

प्रचलित नियमनकारी व्यवस्था अनुसार फागुन मसान्तमा निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा चैत मसान्तसम्म पूर्ण रुपमा भुक्तानी गरेमा उक्त छुट दिने जनाएको छ ।

यस्तो कर्जा चैत मसान्त भित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा भुक्तान गर्ने मितिसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र ब्याज रकममा समेत छुट दिने जनाएको छ ।

कमसल कर्जा (९० दिन भन्दा माथि १८० दिनसम्मले भाखा नाघेको) मा १० प्रतिशत, शंकास्पद कर्जा (१८० दिन भन्दा माथि ३६५ दिनसम्मले भाखा नाघेको) मा १५ प्रतिशत र खराब कर्जा (३६५ दिन भन्दा बढीले भाखा नाघेको) मा २० प्रतिशत छुट दिने जनाएको छ ।

कम्पनीले संस्थाबाट प्रवाह भएका कुनै पनि कर्जाहरूमा आर्थिक शिथिलता तथा अन्य कारणले मर्कामा परेका ग्राहकले यस योजनामा भाग लिन सक्नेछन् ।

यो योजनाबाट विविध कारणले आर्थिक समस्यामा परेका ऋणी सदस्यहरुको वित्तीय भार कम गर्न मद्दत पुग्ने, देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने संस्थाले विश्वास लिएको जनाएको छ ।

लघुवित्तले ६ वर्ष भन्दा बढि अवधिदेखी ७४ जिल्लाको ५६० भन्दा बढी स्थानिय तहमा कार्यक्षेत्र रही २८७ शाखा सञ्जाल विस्तार गरी लघुवित्त कार्यक्रम संचालन गदै आईरहेको छ ।

हाल २ लाख ११ हजार भन्दा बढि सदस्यहरु मध्ये ९० प्रतिशत भन्दा बढि महिला सदस्यहरुको जीवनस्तर उकास्नका लागि १६ अर्ब भन्दा बढि कर्जा प्रवाह गरेको जनाएको छ ।


क्लिकमान्डु