नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा सम्पन्न, ३ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७९/८० को मध्यतिर अर्थात २०७९पुस २७ गते देखि साविक मेगा बैंक नेपाल लिमिटेडसँग मर्जरको कारणले आय/व्ययका रकम अघिल्लो वर्षसँग तुलनात्मक नरहेको बैंकले जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७९/८० को ३७ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको को गरी कूल निक्षेप ३ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा १६ अर्ब ९७ करोड रुपैयाँले वृद्धि भई आर्थिक वर्ष २०७९/८० को अन्त्यमा बैंकको निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी आर्थिक वर्ष २०७९/८० को अन्त्यमा बैंकको कूल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ कायम रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको गरी कूल कर्जा तथा सापटी रकम ३ खर्ब १४ अर्ब रुपैयाँ रहेको थियो ।

विगत केही वर्ष देखि नेपाल राष्ट्र बैँकले बैँकहरुको संख्या घटाउन लिएको मर्जर नीतिलाई समर्थन गर्दै आर्थिक वर्ष २०७९/८० मा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड एक आपसमा गाभिई मिति २०७९ पुस २७ गतेबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सञ्चालन गरेको थियो ।

मर्जर पश्चात् यस बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल शेयरधनी कोश ५५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । हाल बैंकले २७० शाखा, २६७ एटिएम, १६ राजश्व संकलन काउन्टर सहित ६३ एक्टेन्सन काउन्टर र ४६ शाखारहित बैंकिङ मार्फत ३२ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिँदै आएको छ । गुणस्तरीय सेवा तथा सुबिधा प्रदान गरेका कारण समीक्षा अवधिमा बैंकले अन्तराष्ट्रिय प्रकाशन– युरोमनीबाट ‘बेस्ट बैंक २०२३’ को उपाधि समेत प्राप्त गर्न सफल भएको छ ।

सर्वोच्च अदालतको निर्णय अनुपालन गर्दै संचालकहरूको निर्वाचन हाललाई स्थगित गरिएको भने साधारण सभामा प्रस्तुत भएका अन्य सम्पूर्ण एजेण्डाहरु सभाद्धारा स्वीकृत/अनुमोदन भएको बैंकले जनाएको छ ।


क्लिकमान्डु