१० ठूला बैंकको लेखापरिक्षणमा नेपाली अडिटर पनि सहभागी हुने, तोकियो योग्यता



काठमाडौं । आईएमएफको सुझावअनुसार १० ठूला वाणिज्य बैंकको स्वतन्त्र लेखापरिक्षणमा नेपाली अडिटर पनि सहभागी हुन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आशयपत्र माग गरेको सूचना माथि संशोधन गर्दै अन्तर्राष्ट्रि स्वतन्त्र लेखापरिक्षकले स्थानीय अडिटर पनि सामेल गराउने पाउने व्यववस्था गरेको छ ।

आशय माग गरिएको संशोधित सुचनामा भनिएको छ, ‘परामर्श सेवा दिने कम्पनीले योग्यता अभिवृद्धि गर्न अन्य परामर्शदातासँग सहकार्य गर्न सक्नेछ ।’ यसअघिको सूचनामा परामर्श सेवा दिने कम्पनीले योग्यता अभिवृद्धि गर्न अन्य अन्तर्राष्ट्रिय परामर्शदातासँग सहकार्य गर्न सक्ने उल्लेख थियो ।

परामर्श सेवाको संक्षिप्त टीओआरमा पनि संशोधन गरेर नेपाली परामर्शदता सामेल हुन पाउने व्यवस्था गरिएको छ । जसअनुसार परामर्शदाता अडिटरले न्यूनतम ७ वर्ष लेखापरिक्षण वा परामर्श सेवा प्रदान गरेको हुनुपर्छ । बढी अनुभव भएको अडिटरले बढी अंक पाउनेछ ।

नेपाली अडिटरले पछिल्लो ७ वर्षमा वाणिज्य बैंकको न्यूनतम ५ वटा अडिट वा एउटा लोन पोर्टफोलियो रिभ्यु वा एसेट क्वालिटी रिभ्यु वा बैंक डाइग्नोस्टिक्स अनिवार्य गरेको हुनुपर्छ भने न्युनतम २ देशमा लेखापरिक्षण गरेको अनुभव हुनुपर्छ ।

अन्तरराष्ट्रिय मुद्रा कोषसँग गरेको प्रतिबद्धता अनुसार नेपाल राष्ट्र बैंकले तेस्रो पक्षमार्फत् बढी कर्जा प्रवाह गर्ने नेपालका शीर्ष १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यू गर्न चैत १० गते योग्य अन्तरराष्ट्रिय फर्मबाट आशयपत्र माग गरेको थियो । राष्ट्र बैंक र नेपाल सरकारले अन्तरराष्ट्रिय मुद्रा कोषसँग गरेको प्रतिबद्धता अनुसार विदेशी अडिटरले कर्जाको पोर्टफोलियो मूल्यांकन गर्दैछ ।

यस परामर्श सेवाको मुख्य काम शीर्ष १० बैंकको कर्जा पोर्टफोलियोको स्वतन्त्र मूल्यांकन गर्नु रहेको छ । पोर्टफोलियो रिभ्यूका लागि छनोट भएको बाह्य परामर्शदाताले १० वाणिज्य बैंकको कर्जाको सबै पक्षबारे प्रतिवेदन तयार पार्नुपर्ने छ । यसैगरी नेपाली बैंकिङ तथा वित्तीय प्रणालीबारे सुझावसहितको सम्पूर्ण मूल्यांक गरी संयुक्त प्रतिवेदन जारी गर्नुपर्ने छ ।


क्लिकमान्डु