महिला कर्मचारीलाई व्यक्तिगत र व्यवसायिक रूपमा सक्षम बनाउने वातावरण निर्माण गरिरहेका छौं: सीईओ शाह



काठमाडौं । लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय विक्रम शाहले बैंकका महिला कर्मचारीहरूको व्यवसायिक विकास तथा मानसिक एवं शारिरिक स्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताएका छन् ।

उनले महिलाहरूलाई व्यक्तिगत र व्यवसायिक रूपमा सक्षम बनाउने वातावरण निर्माण गर्न बैंक प्रयत्नशील रहेको उल्लेख गर्दै उत्पीडन र भेदभावका मामिलामा शून्य सहनशीलता कायम गर्ने नीति मार्फत सबैका लागि मनोवैज्ञानिक रूपमा सुरक्षित र सम्मानजनक कार्यस्थल बनाउने प्रतिबद्धता जनाए ।

बैंकको लैङ्गिक समानता र महिला सशक्तीकरण कार्यक्रममा शाहले बैंकमा लैङ्गिक प्रतिनिधित्त्व वृद्धि गर्नुपर्ने आवश्यकतालाई स्वीकार गर्दै सक्षम र योग्य महिला जनशक्तिको व्यावसायिक वृद्धि र उन्नतिलाई प्रेरित गर्ने उद्देश्यले विभिन्न पहलहरू कार्यान्वयन गर्न जारी राख्दै भविष्यमा कर्मचारीहरुको निम्ति संस्थाले प्रदान गर्नुपर्ने हेरचाह र उपयुक्त समयको व्यवस्थापनमा हामी तयार रहने बताए ।

लक्ष्मी सन्राइज बैंकले समावेशीता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै लैङ्गिक समानता र महिला सशक्तीकरण कार्यक्रम समपन्न गरेको छ ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, अन्तराष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा दबान सान्चेज, एफ वान सफ्ट ग्रुपका पियुष पौड्याल तथा भायनेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक लगायतका वक्ताहरुले महिला नेतृत्व र सशक्तिकरणको बारेमा आफ्ना महत्वपूर्ण धारणाहरु राखे ।

नेपाली बैंकहरूको समग्र महिला कर्मचारी ७ प्रतिशत रहेकोमा लक्ष्मी सन्राइज बैंकको १ प्रतिशत भन्दा कम हुनुले समावेशी र सहयोगी कार्यस्थलको वातावरण सिर्जना गर्ने बैंकको प्रयासको सकारात्मक परिणामहरू झल्काउँछ ।

हाल बैंकको ३६ प्रतिशत जनशक्ति महिला छन् भने महानगरहरूमा यो अनुपात ४५ प्रतिशत रहेको छ । काठमाडौं उपत्यका भित्रका बैंकका करिब ४० प्रतिशत शाखामा महिला शाखा प्रबन्धकहरू रहेका छन् भने बैंकको २५ प्रतिशत विभागको नेतृत्त्व महिलाहरुले गरीरहेका छन् ।


क्लिकमान्डु