१०६१ मेगावाटको माथिल्लो अरुणमा लगानी जुट्यो, विश्व बैंकसँग १ खर्बको सम्झौता हुने



काठमाडौं ।  संखुवासभा स्थित १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानीको टुंगो लागेको छ ।

जुन (असार) भित्र बिश्व बैंकको नेतृत्वमा लगानी सम्बन्धी सम्झौता गर्ने तयारी भएको छ ।  नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लगानीका लागि आगामी ३ महिनाभित्रै सम्झौता गर्ने तय भएको बताए । घिसिङसहितको टोली दुई साता पहिले बिश्व बैंकको मुख्यालय पुगेर लगानको विषयमा टुंगो लगाएर फर्किएको हो ।

यो आयोजनामा बिश्व बैंकले सहुलियत ऋणमा ८५० मिलियन अमेरिकी डलर (करिब १  खर्ब ११ अर्ब ३१ करोड रुपैयाँ)  लगानी गर्न लागेको हो । बिश्व बैंकले १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिने प्रतिबद्धता यस अघि जनाइसकेको छ ।

यो आयोजनाका लागि सुरुमा २ खर्ब १४ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो । तर लगानी जुटाएर काम गर्न ढिलाई हुँदै गएकोले लागत पनि बढ्दै गएको छ । अब यो आयोजना बनाउन २ खर्ब ३० अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान छ ।

यो लगानीमध्ये ५३ अर्ब रुपैयाँ स्वदेशी बैक तथा वित्तिय संस्थाबाट जुटाउने योजना छ । २०७९ भदौमा स्वदेशी लगानी जुटाउनका लागि सम्झौता भइसकेको छ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), नागरिक लगानी कोष, राष्ट्रिय वाणिज्य बैक र  नेपाल बैंकले कन्सोर्टिय फर्म बनाएका छन् । अप्पर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेड र कन्सोर्टियम फर्मका सदस्यहरुबीच द्धिपक्षिय सम्झौता (एमओयु) भएको हो ।

यो आयोजनामा एचआईडीसीएलको सञ्चालक समितिले ११ अर्ब ३४ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरिसकेको छ । यो परियोजनामा ६४ अर्ब रुपैयाँ इक्विटी (सेयर)बाट जुटाइनेछ ।

 बिश्व बैंकको नेतृत्वमा कन्सोर्टियम फम बनाएर विदेशी लगानी ल्याउन लागिएको हो । यो फर्ममा एसियाली बिकास बैंक, साउदी फण्ड, ओपेकलगायत रहनेछन् ।

गत फागुनमा बिश्व बैकका नेपाल, माल्दिभ्स तथा श्रीलंका हेर्ने देशीय निर्देशक फारिस हदाद जेर्वोसले आयोजना साछ निरीक्षण गरेपछि लगानीको टुंगो छिट्टै लाग्ने बताएका थिए । उनले आयोजना कार्यान्वयनका क्रममा वातावरणीय तथा सामाजिक सुरक्षढण व्यवस्था कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका थिए । ७ वर्षभन्दा लामो समयदेखि बिश्व बैकसँग सहुलियतपूर्ण ऋणका लागि वार्ता चलिरहेको थियो ।

अर्थमन्त्री वर्षमान पुनले चैत ९ गते बिश्व बैकका तीन उपाध्यक्षसंग छलफल गरेका थिए । आगामी पाँच वर्षका लागि नेपाल र बैकबीचको साझेदारी खाका निर्माण एवम् माथिल्लो अरुण र ६३५ मेगावाटको दुधकोसी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढाउने विषयमा छलफल भएको थियो ।

यो जलविद्युत् आयोजनाको अध्ययनको काम पूरा भइसकेको छ भने पहुँचमार्ग निर्माणको काम चलिरहेको छ । पहुँचमार्ग निर्माणको जिम्मा भारतीय कम्पनी गायत्री प्रोजेक्ट्स लिमिटेड र कन्काई इन्टरनेशल बिल्डर्स प्रालिले सयुक्त रुपमा पाएका छन् । ३३ महिनामा सक्ने गरी २०७९ माघमा ठेक्का पाएको हो । यसका लागि २२ किमी सडक २ किमी सडक सुरुङमार्ग निर्माण गर्नुपर्ने छ । यही काम गर्न ७ अर्ब ९१ करोड रुपैयाँमा ठेक्का दिइएको हो । आयोजनामा सडक सुरुङमार्ग बनाएर आयोजनासम्म पुग्नुपर्छ । सुरुङमार्गसहितको सडक बनाउनुपर्ने भएकाले तोकिएको समयमा काम सक्नुपर्ने चुनौती छ ।

यो आयोजना विस्तृत अध्ययन भइसकेको छ । अप्पर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडेल अध्ययन  गरेको हो । यो नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी हो ।

अध्ययन अनुसार प्रस्तावित जलविद्युत् आयोजना अर्ध-जलाययुक्त हो । जसले ६ घण्टासम्म पिकिङ दिन सक्छ । नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित छन् । जसको उत्पादन घटेका कारण आन्तरिक माग पूरा गर्न भारतबाट ६०० मेगावाटसम्म आयात भइरहेको छ । यो आयोजना निर्माण भए सुक्खायामको लोड व्यवस्थापनका लागि सहयोगी हुनेछ । आयोजनाका लागि ८.४ किमी सुरुङमार्ग निर्माण गर्नुपर्छ । ३९ मिटरको पेनस्टक पाइप राखिने छ । भुमिगत प्रकृतिको विद्युत गृह (पावर हाउस) हुनेछ ।

पहुँचमार्गसहित निर्माण थालेको ६८ महिनामा व्यवसायिक उत्पादन गर्न सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ । गत वर्षबाट योजना अनुसार पहुँचमार्ग निर्माणको काम सुरु भइसकेको छ ।


क्लिकमान्डु