सर्वोच्चको आदेशको स्वागत गर्दै दुर्गा प्रसाईंले भने: अब मसित पैसा हुन्छ, बैंकको ऋण तिर्छु



काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन अदालत आदेश दिएपछि देशमा न्याय नमरेको प्रतिक्रिया दिएका छन् ।

करिब तीन साता भारत बसेर फर्किएका प्रसाईंले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै १३ वर्षसम्म आफूलाई अन्यायमा पारिएकोमा अदालतले न्याय दिएको बताए ।

‘हामीलाई मेडिकल कलेज खोल्न आशय पत्र दिइयो तर १३ वर्षसम्म सम्बन्धन नदिएर रुवाएर, तड्पाएर राखेका थिए । अदालतबाट सम्बन्धन दिने आदेश भएको छ । देशमा न्याय मरेको छैन भन्ने प्रमाणित भयो । न्यायपालिकालाई धन्यवाद,’ प्रसाईंले भने ।

प्रसाईंले बिएन्डसीको एफिलियसन आएपछि कलेज चलाउने र बैंकको लोन चुक्ता गर्ने बताए । उनले आफूले बैंकको पैसा तिर्दिन भनेर कहिल्यै नभनेको बताए । ब्याज बढाएका कारण आफूले प्रश्न गरेको उनको भनाइ छ ।

उनले बैंकको पैसा तिरे पनि आफ्नो आन्दोलन अघि बढ्ने तर्क गरे । ‘म बैंकको पैसा तिर्छु । अब लडाइँ झन् एग्रेसिभली जान्छ । अब मसित पैसा पनि हुन्छ, लडाइँ पनि गर्छु,’ उनले भने ।

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट प्रसाईंले करिब ६ अर्ब ऋण लिएका छन् ।

प्रसाईंले आफ्ना अंगरक्षकलाई पक्राउ गरेको भन्दै आक्रोश पोखे । उनले आफ्ना अंगरक्षकबाट खोसिएको हतियार एक हप्ताभित्र फिर्ता गर्न अल्टिमेटम दिए । उनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिए ।


क्लिकमान्डु