समस्याग्रस्त सहकारीको संख्या २० पुग्यो, १५ वटा बाटमात्रै सवा १७ अर्ब रुपैयाँभन्दा धेरै ठगी



काठमाडौं । सरकारले २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चैत १३ गतेसम्ममा २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।

अहिलेसम्म २० वटा सहकारील संस्थामध्ये १५ वटाले ४३ हजार ९०७ जना बचतकर्ताको १७ अर्ब २८ करोड ७४ लाख ८९ हजार ४४६ रुपैयाँ ठगेको भन्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा उजुरी परेको छ ।

थप ५ वटा सहकारीको रकम थपिँदा यो रकम बढ्ने छ ।

चालु आर्थिक वर्षमा मात्रै सरकारले ८ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । ८ वटामध्ये ५ वटा सहकारीका पीडितले माग दाबी गर्ने क्रम बाँकी नै रहेका कारण यो रकम थपिने कार्यालयका सदस्यसचिव केशव प्रसाद पौडेलले क्लिकमान्डुलाई बताए ।

सहकारी विभागको सिफारिसमा मन्त्रालयले पशुपति सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ, तुलसी बहुउद्देश्यीय सहकारी, शिबशिखर बहुउद्देश्यीय सहकारी, हाम्रो नयाँ कृषि सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी, कान्तिपुर सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, श्री लालिगुराँस बहुउद्देश्यीय र गौतमश्री बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । यी सबैको बिबरण आउँदा समस्याग्रस्त घोषणा गरिएका २० सहकारीबाट ३० अर्ब रुपैयाँको हाराहारीमा ठगिएको हुनसक्ने कार्यालयका अधिकारीहरु बताउँछन् ।

सहकारी संस्थाहरूले सहकारी ऐन, नियम, मूल्य र मान्यता विपरीत कार्य गरी बचतकर्ताको बचत फिर्ता नगरेकोपछि सहकारी ऐन अनुसार समस्याग्रस्त घोषणा गर्दै आएको छ ।

मन्त्रालयले संस्थालाई समस्याग्रस्त घोषणा गरेपछि त्यसको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न कार्यालयमा पठाउने गरेको छ । त्यसको आधारमा कार्यालयले संस्थामा सिलबन्दी गर्ने, आवश्यक कागजात संकलन गर्ने, बचतकर्तालाई माग दाबी गर्न आह्वान गर्ने, ऋणी भए ऋण उठाउने र नभएको खण्डका सञ्चालककको दायजेथा बिक्री गरेर भएपनि बचत फिर्ता गराउने पौडेलको भनाइ छ ।

सरकारले २०७५ असारदेखि नै सहकारीलाई समस्थाग्रस्त घोषणा गर्दै आएको छ । ‍स्टाण्डर्ड सेभिङ् एण्ड क्रेडिट को अपरेटिभ, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेण्ट को–अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, कञ्जुमर बचत तथा ऋण सहकारी, कुबेर बचत तथा ऋण सहकारी, चार्टड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी, स्टाण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी, लुःनिभा बहुद्देश्यीय सहकारी, ओरेण्टल को–अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ ।

समस्याग्रस्त घोषणा भएका सहकारीमध्ये कुबेर बचत तथा ऋण सहकारी, स्टाण्डर्ड मल्टिपर्पोज को अपरेटिभ र चार्टर सेभिङ एण्ड क्रेडिटले बचतकर्तालाई बचत करिब फिर्ता गरिसकेको कार्यालयले जनाएको छ । यसको फरफारक हुने अन्तिम क्रममा रहेको छ । यता लुनिभा र सोसाइटलका बचतकर्ताले पनि बचत करिब फिर्ता पाइसक्न लागेको बताइएको छ ।


क्लिकमान्डु