नबिल बैंकले गरेको वित्तीय साक्षरता कार्यक्रमबाट १९ सय बढी विद्यार्थी लाभान्वित



काठमाडौं । नबिल बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्न सातै प्रदेशमा विभिन्न कार्यक्रम गरेको छ ।

बैंकले मार्च १८ देखि २४ गतेसम्म ग्लोबल मनी विक सञ्चालन गरिएको थियो । त्यस क्रममा बैंकले सातै प्रदेशमा १९ सय भन्दा बढी विद्यार्थीमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

बैंकले युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउनु पर्छ र त्यसका लागि राम्रो वित्तीय ज्ञान दिन जरुरी छ भन्ने ध्येयले जागरूकता अभियान सञ्चालन गर्दै आएको जनाएको छ । ग्लोबल मनी विकको सन्दर्भमा सातै प्रदेशमा सञ्चालन गरिएको कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षा लगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको बैंकले जनाएको छ ।

वित्तीय साक्षरता प्रोत्साहित गर्न देशभरका विभिन्न शैक्षिक संस्थामा नबिल बैंकका शाखाहरूले आयोजना गरेको कार्यक्रमबाट कोशी प्रदेशका ६७३ भन्दा बढी विद्यार्थीले लाभ लिएको बैंकको दाबी छ ।

मधेश प्रदेशका २२० विद्यार्थी वित्तीय साक्षरता कक्षामा सहभागिता जनाएको बैंकको दाबी छ । बागमती प्रदेशका विभिन्न कलेजमा सञ्चालन गरेका गतिविधिबाट ४२५ भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् ।

लुम्बिनी प्रदेशका १ सय ३५ र सुदूरपश्चिम प्रदेशका १ सय २० विद्यार्थीले बैंकले सञ्चालन गरेको साक्षरता कार्यक्रमबाट लाभ लिएका छन् । त्यस्तै कर्णाली प्रदेशमा करिब २४० जना विद्यार्थी लाभान्वित भएका छन् ।

यता बैंकको पोखरा शाखाले लोफा पोखरासँगको सहकार्यमा चित्रकला प्रतियोगिता गरेको छ । कक्षा ८ देखि १० र ११ देखि स्नातकसम्मका विद्यार्थीहरू बिच २ तहमा उक्त प्रतिस्पर्धा गराइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार अन्तिम नतिजा यसै साता घोषणा गरिने छ । उक्त कार्यक्रम अन्तर्गत प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई शैक्षिक सामग्री पुरस्कार वितरण गरिने बैंकको पोखरा शाखाले जनाएको छ ।

बैंकले वित्तीय साक्षरता विस्तार गर्न तथा डिजिटल बैंकिङलाई अभिप्रेरित गर्नको लागि वर्षभर नै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । त्यस्तै सामाजिक उद्यमशीलता विकासको लागि ‘नबिल एसएसई’ लगायतका कार्यक्रमहरू सञ्चालन गरेको छ ।

युवा तथा विद्यार्थी केन्द्रित सस्तो ब्याजदरमा शैक्षिक कर्जा, युवा उद्यमशील कर्जा लगायतका कार्यक्रम सञ्चालन गरेको छ । बैंकले देशभर २६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ ।


क्लिकमान्डु