पर्यटन बोर्डको अनुपस्थितिमै आईटीबी बर्लिनमा पाटा सहभागी, लागत बढेपछि व्यवसायीले भने: बोर्ड बोझ भो



काठमाडौं । नेपाल पर्यटन बोर्डको अनुपस्थितिमै प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपालमा आवद्ध व्यवासायी आईटीबी बर्लिनमा सहभागि भएका छन् । पाटामा आवद्ध ४० व्यवसायी पर्यटन बोर्डको अनुपस्थितिमै उक्त पर्यटन प्रवद्र्धन कार्यक्रममा सहभागि भएको पाटा नेपालले बताएको छ ।

पाटा नेपाल च्याप्टरको आयोजनामा जर्मनीमा नेपालको पर्यटन व्यवसायमा आबद्ध निजी क्षेत्रका ४० वटा विविध पर्यटन र हस्पिटालिटी व्यवसायिक कम्पनीहरूसँगको सहकार्यमा भएको छ । गत मार्च ५ देखि ७ सम्म जर्मनीको बर्लिनमा आयोजित उक्त कार्यक्रममा व्यवसायीको सक्रिय सहभागिता भएको पाटा नेपालले जानकारी दिएको छ ।

पर्यटन प्रवर्द्र्धनात्मक कार्यक्रमहरुमा आइटीबी बर्लिन विश्वकै सबैभन्दा ठूलो ट्राभल ट्रेड सो हो । यो पर्यटन मेलामा नेपाल पर्यटन बोर्ड स्थापना भएदेखि नै सहभागी हुँदै आएको थियो । यो पटक भने पर्यटन बोर्डले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनको काम ठप्प पारेको छ ।

बोर्डले अन्तर्राष्ट्रिय मेला सम्बन्धी कार्यविधि स्वीकृत नगरेका कारण खर्च गर्न नसक्ने अवस्था देखार पन्छिएको छ । बोर्डले वर्षेनी आईटीबी बर्लिनमा हुने ट्राभल सोमा नेपालका व्यवसायीका लागि आवश्यक स्टलको भाडा तिरिदिने गरेको थियो । बोर्डले वर्षेनी कम्तिमा २५ हजार डलर बार्षिक बजेट विनियोजन गरेर उक्त पर्यटन मेलाको नेपाली व्यवसायीले लिने स्पेशको भाडा तिरिदिने गरेको थियो । यो वर्ष भने बोर्डको अनुपस्थितिले व्यावसायीको लागत बढेको उल्लेख छ ।

बोर्ड सहभागी नहुँदा विगतका वर्षहरुमा नेपाली व्यवसायीले प्रतिव्यक्ति २ लाख रुपैयाँ खर्च गरे पुग्ने गरेकोमा यसपटक भने कम्तिमा ४ लाख रुपैयाँ खर्च भएको छ । नेपालको पर्यटनको अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धनकै लागि गठन भएको बोर्डको गतिविधि ठप्प भएपनि व्यवसायी आफैंले यो वर्ष उक्त पर्यटन मेलामा सहभागि भएको पाटा नेपालका पूर्व अध्यक्ष सुमन पाण्डेले बताए

पाण्डेका अनुसार बोर्डको अनुस्थितिले व्यवसायीको यो वर्ष लागत नै बढेको हो । उनले भने ‘जुन कामको लागि स्थपना भएको बोर्डले त्यही काम गर्न नसक्ने भएपनि अब बोर्ड किन चाहियो ? बोर्ड खारेज गरे हुन्छ ।’

‘पर्यटन व्यवसायको प्रवद्र्धन गर्न स्थापन भएको बोर्डका गतिविधि ठप्प हुनु भनेको अब बोर्ड पर्यटन व्यवसायीको लागि बोझ हो,’ पाण्डेले भने । पर्यटन बोर्ड अहिले मरणासन्नको स्थितिमा पुगेकोले छ भने बोडलाई माफिया, दलाली, खुसखोर, भष्ट्राचारीले विगारेको आरोप पनि पाण्डेको छ ।

पर्यटन बोर्डले बर्षेनी अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रलाई साथ दिने गरेको भएपनि यस पटक प्राविधिक कारण पन्छनुपरेको बोर्डका निमित्त निर्देशक लक्ष्मण गौतमले बताए । उनले भने ‘बोर्डले यस अघि व्यवसायीको सहजतामा काम गरेको थियो भने नेपालको पर्यटन प्रवद्र्धनमा अन्तर्राष्ट्रिय स्तमा बलियो उपस्थिति देखाएको भएपनि यस पटक भने खर्च गर्ने आधार नै नभएकोले रोकिनुपरेको हो ।’

बोर्डको उपस्थिति नहुँदा व्यावसायीलाई लागत बढी परेको विषयमा आफूहरु जानकार रहेको र उनिहरुको गुनासो स्वभाविक भएको प्रतिकृया पनि गौतमले दिए । यो वर्ष सम्पन्न आईटीबी बर्लिनमा १७० देशबाट ५५०० ले १७० देशहरूबाट ५ हजार ५०० भन्दा बढी बिक्रेता तथा प्रदर्शक कम्पनीहरुको सहभागिता थियो । विश्वभरीबाट पर्यटनकर्मीहरु, पर्यटन उद्योगका क्रेताहरू र व्यापार आगन्तुकहरू सो मेलामा आएको पाटा नेपालले जानकारी दिएको छ ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले आई टी बी बर्लिन २०२४ मा नेपालको प्रतिनिधित्व सुनिश्चित गर्न सहभागी सबै नेपाली पर्यटन व्यवसायीहरुलाई सक्रिय सहभागिता रहेको बताए । उनले विश्वको प्रमुख ट्राभल हब मध्येको एक आई टी बी बर्लिनमा नेपालको छवि उच्च्च राख्दै देशको पर्यटनको बजारीकरण र प्रवर्द्धनकालागि पाटा नेपालले भूमिका निर्वाह गर्न पाउँदा खुसी लागेके पनि बताए ।


राजु बास्कोटा