केन्द्रमा गठबन्धन फेरिएपछि सुदूरपश्चिममा माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त भएका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले उनहरुलाई पदमुक्त गरे । उनी कांग्रेसबाट मुख्यमन्त्री बनेका हुन् ।

पदमुक्त हुनेमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री गीतादेवी माल छन् । साथै मन्त्रीद्वय साउद र धामीले सम्हाल्दै आएको मन्त्रालय मुख्यमन्त्री शाहले आफू मातहत राखेका छन् ।

मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका दुई मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गरिएको जानकारी दिए ।

‘केन्द्रमा सत्तासमीकरण फेरिएपछि प्रदेश सरकारमा मन्त्री हेरफेर गर्नुपरेको हो, प्रदेशको विकास र समृद्धिका लागि म सबै दलसँग वार्ता, संवाद सहमतिका लागि खुला छु’ उनले भने ।


क्लिकमान्डु