४१३ दिन मन्त्री बनेका किराँतीले क्वाटर छोडे



काठमाडौं । निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारी निवास छाडेका छन् । १३ महिना बढी मन्त्रीको जिम्मेवारी सम्हालेका किराँती प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार पुनर्गठन गरेपछि बिदा भएका हुन् ।

मन्त्री क्वाटर छाडेर जाँदै गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै किराँतीले यस्तो लेखेका छन्-

आज सरकारले दिएको निवास छोडेर जाँदैछु । पस्दा मलाई धेरै डर लागेको थियो तर निस्कदा खुसी छु । मेरो आमाले भन्नु हुन्थ्यो ‘जिम्मेवारी पाउनु गाह्रो कुरा हो, त्यो भन्दा गाह्रो त पूरा गर्नु हो ।’

४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरेँ । यो अवसर प्रदान गर्नु हुने प्रधानमन्त्री ‘प्रचण्ड’, मेरो पार्टी, मलाई मत दिनुहुने मतदातहरु र संसारका कुना-कुनाबाट मलाई सहयोग र सहानुभूति दिनुहुने सम्पूर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्दछु । म र मेरो टिमले सकेको कोशिस गरेका छौँ । हामीले रोपेको बिरुवामा धेरै कोपिला लागेको छ, आउने मालीले फक्राउनु हुनेछ भन्ने विश्वास लिएको छु ।

मैले यहाँ बस्दा मेरो वुवाको एक प्राण लिने मृत्युमात्र देखिनँ, मेरो राजनीतिक जीवनको हजार मृत्युहरु पटक पटक देखे र राजनीतिक मृत्युलाई मैले छल्न सकेँ तर प्राण लिने मृत्युलाई वुवाले छल्नु सक्नु भएन । सत्य यो रहेछ कि भौतिक मृत्यु माथि अठोट र इमानले जित्न नसकिँदो रहेछ तर राजनीतिक मृत्युलाई अठोट र इमानले जित्न सकिँदो रहेछ ।


क्लिकमान्डु