रास्वपासँग ठूलो अपेक्षा गरेर प्रधानमन्त्रीले हात फैलाएपछि सरकारमा सहभागी भएका हौं: स्वर्णिम वाग्ले



फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्सी धरापमा नपरे पनि निर्णायक सम्बोधनको जोखिम मोलेकाले आफूहरु सरकारमा सहभागी भएको बताएका छन् ।

सोमबार राति बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा वाग्लेले प्रधानमन्त्री दाहालले जनतामा डेलिभरी रफ्तारमा जाओस् भन्ने कुरालाई गम्भीरतापूर्वक मनन गरेको आफूहरुले पाएको बताए ।

‘अहिले आर्थिक शिथिलता र कुशासनका केही शृङ्खलाबाट आमनैराश्य समाजमा व्याप्त छ । यसले डेलिभरीको गति पनि, मात्रा पनि, क्वालिटी पनि सबैमा रफ्तारमा जाओस् भन्ने जुन समाजमा अपेक्षा छ । त्यसमा प्रधानमन्त्रीज्यूले अलि गम्भीरतापूर्वक मनन गरेको हामीले पायौँ,’ वाग्लेले भने,’ उहाँहरूको कुर्सी हल्लिएको थिएन, अर्को ९–१० महिना उहाँ आरामले बस्न सक्नहुन्थ्यो । तर पनि उहाँले जोखिम मोलेर एउटा निर्णायक सम्बोधनतिरै म जानुपर्छ भनेर जुन पहल गर्नुभयो । हामी पनि उदीयमान राष्ट्रिय दलका हिसाबले यसमा सहभागी हुनुपर्छ ।’

तर, आफूहरू निश्चित एजेन्डा बोकेर सरकारमा सहभागी भएको उनको भनाइ छ । प्रधानमन्त्रीले रास्वपाबाट धेरै अपेक्षा गरेर साझेरादीको हात फैलाएकोले आफूहरु सरकारमा सहभागी भएको उनको भनाइ छ । जनतालाई डेलिभरी दिन नसकेको दिन आफूहरू सरकारबाट बाहिरिने उनको भनाइ छ ।

‘पछिल्लो चरणमा प्रधानमन्त्रीज्यूबाट नयाँ ढंगबाट जाऔँ भन्ने आह्वान भयो । मुलुकको सबैभन्दा ठूलो दलसँगको उहाँको साझेदारी टुट्ने अवस्था आयो । हामी चौँथो ठूलो दलबाट उहाँले यति धेरै अपेक्षा गर्नुभएको छ कि उहाँले साझेदारीको हात फैलाउनुभयो,’ वाग्लेले भने ।


क्लिकमान्डु