काठमाडौं महानगरपालिकाले लगायो थप तीन अस्पतालको फोहोर संकलनमा रोक



काठमाडौँ । काठमाडौं महानगरपालिकाले थप तीन अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ ।

महानगरको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा आइतबार ३ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको हो । महाराजगञ्जको चिरायु अस्पताल, बसुन्धराको विपी स्मृति अस्पताल र सामाखुशी क्षेत्रमा सञ्चालित कान्तिपुर डेन्टल अस्पतालको फोहोर संकलनमा रोक लगाइएको महानगरले जनाएको छ ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी वरिष्ठ इञ्जिनियर निशा कोइरालाकाअनुसार स्रोतमा फोहोर वर्गीकरण, वर्गीकरण भएको फोहोर ढुवानी, भण्डार कक्ष र निर्मलीकरण प्रविधिको अनुगमन गर्दा तीन वटै अस्पतालमा फोहोर निर्मलीकरण गर्न अटोक्लेभ वा अन्य कुनै विधिको प्रयोग नदेखिएकोले फोहोर संकलनमा रोक लगाइएको हो ।

महानगरले हालसम्म २७ वटा अस्पतालमा फोहोर व्यवस्थापनको अभ्यासको अनुगमन गरिसकेको छ । जसमा यसअघि नै एउटा सरकारी र ४ वटा निजी गरी ५ वटा अस्पतालहरुको फोहोर संकलनमा रोक लगाइको थियो । आइतबार थप तीन अस्पतालको फोहोर संलनमा रोक लगाइएको वातावरण विभागले जानकारी दिएको छ ।

आइतबार अनुगमन गरिएकोमध्ये सबैभन्दा कमजोर अभ्यास विपी स्मृति अस्पतालमा पाइएको विभागले जनाएको छ । अस्पताललाई फोहोर व्यवस्थापनको जिम्मेवारी कसको हो भन्ने जस्ता आधारभूत कुराहरु पनि अस्पतालका निर्देशकलाई जानकारी नभएको पाइएको थियो । सय बेडको उक्त अस्पतालमा अस्पतालबाट जम्मा भएको फोहोर क्यान्टिन नजिकैको सानो कोठामा बोरामा राखिएको पाइएको विभागले जनाएको छ ।

त्यस्तै, १५० वटा डेन्टल चेयर र १ सय वटा वेड रहेको कान्तिपुर डेन्टल अस्पतालमा दैनिक करिब १० किलो फोहोर उत्पादन हुने गरेकोमा उत्पादित सुइहरु ग्यालिनमा हालेर राखिएको पाइएको विभागले जनाएको छ ।

बसुन्धरामा रहेको चिरायु अस्पतालमा फोहोर वर्गीकरणका लागि छुट्टाछुट्टै बकेट राखिएको तर, नर्सिङ् ट्रलीमा ८ वटा बकेट हुनु पर्नेमा २ वटा मात्र देखिएको विभागले जनाएको छ । प्रयोगशालामा अटोक्लेभ छ, यसलाई फोहोर नभइ प्रयोगशालाका सामानलाई शुद्धिकरण गर्न प्रयोग भएको पाइएको थियो । अस्पतालमा अटोक्लेभ विग्रिएका कारण संक्रमित फोहोर निर्मलीकरण हुन सकेको देखिएको विभागले जनाएको छ ।

अनुगमन गरिएका अस्पतालहरुमा अटोक्लेभ सञ्चालन नभएको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको विभागले जानकारी दिएको छ ।

वातावरण व्यवस्थापन विभागले अनुगमनको नेतृत्व र संयोजन गरिरहेको हो । टोलीमा स्वास्थ्य विभाग र महानगर प्रहरी बलका अधिकारीहरु सहभागी रहेर महानगरले अनुगमन गरिरहेको छ ।


क्लिकमान्डु