ढुकुटीको सिल तोडेको आरोपमा राष्ट्र बैंकका निर्देशकमाथि छानबिन



काठमाडौं । ढुकुटीको सिल तोडेको आशंकामा नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयका प्रमुख(निर्देशक) विनोद लेखकमाथि छानबिन सुरु भएको छ ।

नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयको ढुकुटीको सिल तोडेको आशंकामा उनीमाथि छानबिन सुरु भएको हो । राष्ट्र बैंक व्यवस्थापनले लेखकलाई बालुवाटारस्थित केन्द्रीय कार्यालयमा तानेर उनीमाथि छानबिन अघि बढाएको छ ।

‘ढुकुटीको सिल तोडेको आरोप उहाँमाथि लागेको छ’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘हामीले उहाँलाई काठमाडौं तानेर छानबिन गरिरहेका छौं ।’

राष्ट्र बैंकले काठमाडौंबाट घटनाको अनुसन्धानका लागि टोली नै खटाएको थियो । उक्त टोलीको प्रारम्भिक अनुसन्धानले प्रमुख लेखकले बैंकको ढुकुटीको ढोकाको सिल तोडेको पाइएको प्रतिवेदन तयार पारेको थियो ।

राष्ट्र बैंकमा हरेक दिन साँझ ५ बजे ढुकुटीमा ताल्चासहित सिल लगाउने गरिन्छ । प्रदेशभरका बैंक तथा वित्तीय संस्थाले आफूसँग जम्मा भएको रकम सुरक्षाका लागि राष्ट्र बैंकमा राख्ने गर्छन् । साथै बैंक तथा वित्तीय संस्थालाई नगद सुविधा दिनका लागि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हुन्छ ।

ढुकुटीमा ताला लगाएर सिल मारेपछि त्यसको चाबी तीन जनाले बोक्छन् । कार्यालय प्रमुख, क्यासियर र कार्यालय प्रमुखले तोकेको व्यक्तिको जिम्मा दिइने यस्तो चाबीले ताला लगाएपछि त्यसमा काँचो धागोले बाँधेर लाहा छाप लगाउने गरिन्छ र केही साक्षीहरुलाई सनाखत गराउने गरिन्छ ।

त्यसरी राखिएको ढुकुटीको रकम कार्यालय समयपछि बिहान १० बजेसम्म नेपाली सेनाको सुरक्षा घेरामा रहेको हुन्छ ।

तर, केहि समयअघि उक्त सिल खोलिएको अवस्थामा फेला परेको थियो । लेखकले बिहान कार्यालय समयको सुरुमा सिल निकालेर फर्किएको पाइएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।


क्लिकमान्डु