सीआईबीले सहकारीको लहरो तान्दा बैंकर पनि परे: गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सहकारीको अनुसन्धान गर्दा बैंकरसमेत परेको बताएका छन् ।

आइतबार अर्थ समितिमा भएको छलफलमा गभर्नर अधिकारीले सीआईबीले बैंकको नभइ एउटा (देउराली बहुउद्देश्यीय) सहकारीको अनुसन्धान गर्दा त्यसको लहरो बैंकसम्म परेको बताए ।

बैंकर पक्राउ परेको विषयमा राष्ट्र बैंकले प्रहरीसँग पनि समन्वय गरेको उनले जानकारी गराए । ‘बैंकिङ कसुरजन्यकार्य गरेको खण्डमा प्रहरीले अनुसन्धान गर्छ,’ उनले भने, ‘प्रहरीले एउटा सहकारीको अनुसन्धान गरेको थियो । त्यसको अनुसन्धान गर्दा सहकारीको लहरोले बैंकका कर्मचारीसम्म पुगेको छ ।’

प्रहरीले एकै पटक बैंकर समातेको जस्तो देखिए पनि यो विषयमा प्रहरीले लामो समयदेखि अनुसन्धान गरेको र अनुसन्धानको अन्तिम चरणमा पुगेकाले बैंकर पक्राउ परेको अधिकारीको भनाइ छ ।

उनले आगामी दिनमा कसैलाई पनि आतंकित नबन्न आग्रह गरे । सरकारी निकायले गरेको अनुसन्धानमा राष्ट्र बैंकले सहयोग गर्ने उनले बताए ।

अधिकारीले पछिल्लो समय बैंकका कर्मचारीहरुमाथि विभिन समूह र क्षेत्रबाट आक्रमण र धरपकड भइरहेको भन्दै यसले बैंकिङ प्रणालीमा समस्या निम्त्याउने बताएका छन् ।

दुर्गा प्रसाईंको अराजकतालाई नरोक्ने हो भने बैंकहरुले सोचअनुसार कर्जाको माग र प्रवाह नहुने उनको भनाइ छ ।

लामो समयदेखि दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्नु पर्दैन भन्ने अभियान चलाइरहँदा अधिकारीले यसले बैंकिङ प्रणालीमा समस्या निम्तन सक्ने बताए ।

गभर्नर अधिकारीले यस्ता अभियानले बैंकिङ क्षेत्रका कर्मचारीको मनोबल घट्ने बताए । ‘कर्मचारीलाई मोसो दल्ने, धरपकड गर्ने काम भएको छ,’ उनले भने, ‘यस्ता कार्यले कर्मचारीले कसरी काम गर्न सक्छन् ।’

अहिले केही समूह बैंकिङ क्षेत्र, नियामक निकायलाई कमजोर बनाउने लागेको बताए । बैंक कमजोर बनायो भने सबै क्षेत्र कमजोर बनाउन सकिने स्वार्थ समूह लागेको उनको दाबी छ ।

अहिले बैंकको कर्जाको गुणस्तर खस्केको उनले बताए । ‘बजारमा ऋण नतिरेपनि हुन्छ भन्ने अभिव्यक्तिले, गलत आश्वासनले बजारमा असर परेको छ । यसले कर्जा प्रवाह र असुली असर परेको छ’ उनले भने ‘त्यसको प्रभाव बैंकको खराब कर्जामा पनि परेको छ ।’

अहिले सबै बैंकहरु सुरक्षित रहेको, जनताको पैसा सुरक्षित रहेको उनको भनाइ छ ।


क्लिकमान्डु