ग्लोबल कलेज चलाउने प्रोफेसनल एजुकेटर्स लिमिटेडको व्यापारमा वृद्धि



काठमाडौं । ग्लोबल कलेजसँगै अन्य विभिन्न शैक्षिक संस्थाहरुको स्वामित्व रहेको प्रोफेसनल एजुकेटर्स लिमिटेडको व्यापारमा वृद्धि भएको छ ।

सन् २०२१ मा ३६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२२ मा ५२ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२३ मा कम्पनीले ६३ करोड ६० लाखको व्यापार गरेको छ ।

सन् २०२२ को तुलनामा सन् २०२३ मा कम्पनीको कारोबार रकममा २० प्रतिशतको वृद्धि आएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्सकाअनुसार यसको कारण विद्यार्थीको संख्यामा आएको वृद्धि र अध्ययन शूल्क (फि)मा आएको वृद्धि रहेको छ ।

सन् २००४ मा सुरु भएको प्रोफेसनल एजुकेटर्स लिमिटेड विभिन्न कलेज तथा विद्यालयहरुको स्वामित्व रहेको कम्पनी हो । यो कम्पनीअन्तर्गत हाल भ्याल्ली भिउ इंग्लिस स्कुल, ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल कलेज इन्टरनेटसनल, ग्लोबल कलेज अफ साइन्स, लिबर्टी कलेज, ग्लोबल कलेज अफ सोसियल साइन्स एण्ड टेक्नोलोजी र युनिग्लोब कलेज रहेका छन् ।

कम्पनीले विद्यालयदेखि विश्वविद्यालय तहसम्म विज्ञान, व्यवस्थापन, कानुन र प्रविधि संकायमा अध्यापन गराउँदै आएको छ ।
कम्पनीको व्यापार वृद्धि भइरहँदा एबिट्डा मार्जिनमा भने केही कमी आएको छ । सन् २०२१ मा ४९.०९ प्रतिशत रहेको मार्जिन सन् २०२२ मा ४६.५३ प्रतिशत रहेको थियो । सन् २०२३ मा यसमा थप कमी आएर ४४.५१ प्रतिशतमा सीमित भएको छ ।

प्रोफेसनल एजुकेटर्स लिमिटेड शिक्षा, अर्थशास्त्र, रिसर्च, बैंकिङ तथा अन्य क्षेत्रका व्यक्तिहरुको लगानीमा सुरुवात भएको कम्पनी हो । यसको बोर्डमा सात जना रहेका छन्, जसको अध्यक्षता खगेन्द्रप्रसाद ओझाले गरेका छन् । उनी विगत तीन दशकदेखि त्रिभुवन विश्वविद्यालयमा सहअध्यापकका रुपमा कार्यरत रहेका छन् ।

व्यापारमा वृद्धि भइरहँदा पनि कम्पनीमा स्थीरताको विषयमा भने कर्जामा आधारित परियोजनाहरु धेरै भएका कारण जोखिम पनि रहेको इन्फोमेरिक्सले जनाएको छ । सन् २०२१ मा कम्पनीले विभिन्न शैक्षिक संस्थाहरुमा गरेको लगानीका कारण कर्जामा वृद्धि भएको थियो, जसलाई कम्पनीले बैंकबाट लिइएको आवद्यिक कर्जाबाट लगानी गरिएको थियो । सन् २०२३ मा आइपुग्दा कम्पनीको कर्जा १ अर्ब ९ करोड ७० लाखबाट वृद्धि भएर १ अर्ब ५६ करोड ३० लाख पुगेको छ । जसमा नेपाल पोर्टपोलियो इन्भेस्टमेन्टमा लगानीका लागि निर्देशकले लिएको ३६ करोड ९० लाख रुपैयाँ छ भने १ करोड भ्याली भिउ स्कुल, ३ करोड ३० लाख लिबर्टी एकेडेमिक नेटवर्क र ४ करोड नेचुरल फुड रिसोर्टमा गरिएको लगानी रहेको छ ।

हाल कम्पनीले १ अर्ब ३१ करोड ८५ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमा इन्फोमेरिक्स नेपालले १ अर्ब २५ करोड ९१ लाख रुपैयाँको दीर्घकालीन कर्जा सुविधाका लागि लागि डबल बि र ५ करोड ९३ लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए फोर रेटङ दिएको छ ।


क्लिकमान्डु