सेबोनको अध्यक्षका लागि दरखास्त आव्हान



काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दर्खास्त आव्हान गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठ संयोजकत्वमा गठित अध्यक्ष छनौट समितिले दर्खास्त आव्हान गरेको छ । अध्यक्षका लागि योग्य व्यक्तिले १५ दिन भित्र आवेदन दिनुपर्ने छ ।

अध्यक्ष छनोट समितिले मंगलबार कार्यबिधी सार्वजनिक गरेको छ । अध्यक्ष बन्नका लागि धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (२) बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको व्यक्ति हुनुपर्ने छ ।

बोर्डको अध्यक्षमा दरखास्त दिनका लागि कुनै राजनीतिक दलको सदस्य नभएको, नेपाल धितोपत्र बोर्डसँगको ठेक्कापट्टा वा कुनै चलअचल सम्पत्ति कारोबारमा आफै वा आफ्नो परिवारका कुनै सदस्यको संलग्नता नरहेको वा बोर्डसँग निजी स्वार्थ नभएको, आफ्नो नाममा व्यक्तिगत बेरुजू बाँकी नरहेको व्यक्ति हुनुपर्ने छ ।

भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषध कारोवार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहर नभएको, टाट नपल्टेको वा बेइमानी वा जालसाजी आरोपमा सजाय नपाएको एवं दामासाहीमा नपरेको, प्रचलित कानून बमोजिम कालो सूचीमा समावेश भए नभएको, र भएको भए त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन बर्ष पूरा भएको, विदेशी मुलुकको स्थायी बसोबासको अनुमति प्राप्त नगरेको, नियामक निकायबाट कार्यकारी प्रमुख हुन अयोग्य हुने भनी तोकिएको अवस्था नभएको व्यक्ति हुनुपर्ने छ ।


क्लिकमान्डु