आन्तरिक हवाई दुर्घटनामा पर्नेका परिवारले सवा करोड पाउने, बिमा रकम ५ गुणाले बढ्ने



गतवर्ष पोखरामा यती एयरलायन्सको विमान दुर्घटनामा परेको थियो । फाइल तस्बिर: रासस

काठमाडौं । सरकारले आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुलाई सवा करोड रुपैयाँभन्दा बढी रकम दिने व्यवस्था गर्ने भएको छ । यसका लागि सरकारले ‘हवाई यातायात सेवा सञ्‍चालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्ने विधेयक’ बनाउने भएको छ ।

यो विधेयकको प्रारम्भिक मस्यौदा तयार पारेर पर्यटन मन्त्रालयले मन्त्रिपरिषदमा दर्ता गराएको छ । मन्त्रिपरिषदले उक्त विधेयकको मस्यौदालाई स्वीकृत गराएको अवस्थामा आश्यक प्रक्रिया पूरा गरेर अगाडि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । ‘हामीले कानुन र अर्थ मन्त्रालयको सहमतिको मस्यौदा तयार पारेरै मन्त्रिपरिषदमा पेस गरेका हौं’ उनले भने ।

यो विधेयक स्वीकृत भएर आएपछि आन्तरिक उडानमा ज्यान गुमाउने यात्रुले हाल पाउँदै आएको बिमा रकम ५ गुणाले बढ्ने छ । हाल आन्तरिक उडानका जहाज दुर्घटना भएर ज्यान गुमाउने यात्रुले २० हजार डलर पाउँछन् भने मन्त्रायले तयारी गरेको उक्त विधेयक स्वीकृत भएर आएपछि १ लाख डलर अर्थात अहिलेकै डलर सटहीको दरअनुसार पनि १ करोड ३० लाख रुपैयाँभन्दा बढी रकम सम्बन्धित यात्रुका परिवारले पाउँछन् ।

सहसचिव लामिछानेका अनुसार, सरकारले आन्तरिक हवाई दुर्घटनामा यात्रुले पाउने क्षतिपूर्ति बढाउन खोजिएको हो । ‘हाल अन्तर्राष्ट्रिय उडानमा यस्तो बिमा रकम १ लाख ६० हजार डलर छ । सोही अनुसार बनाउन नसकिए पनि १ लाख डलर बनाउन गरी कानुनको मस्यौदा तयार पारिसकेको छ,’ उनले भने, ‘उक्त मस्यौदालाई मन्त्रिपरिषदले स्वीकृत दिएपछि अन्तिम खाका बनाएर पुन: पेस हुने छ । त्यसपछि संसदबाट स्वीकृत भएर ऐन बनेपछि मात्रै आन्तरिक उडानका यात्रुले पाउने बिमा रकम बढ्छ ।

यो विधेयक तयार पार्न यस अघि २०७७ चैत १२ मै सरकारले सहसचिव लामिछाने नेतृत्वको ९ सदस्यीय कार्यदललाई जिम्मा दिएको थियो । उक्त कार्यदलले तयार पारेको मस्यौदालाई मन्त्रिपरिषदमा आइतबार पेस गरिएको हो ।

‘हवाई यातायात सेवा सञ्‍चालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्ने विधेयक’को प्रारम्भिक मस्यौदा अनुसार आन्तरिक हवाई उडानमा समेत अब मन्ट्रियल महासन्धी १९९९ का प्रावधान लागु गर्न खोजिएको हो । यो महासन्धिले हवाई दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको निकटको परिवारले १ लाख डलर क्षर्तिपूर्ति पाउँछन् । यो क्षतिपूर्ति हाल अन्तर्राष्ट्रिय उडानका वायुसेवाको हकमा मात्रै नेपालमा पनि लागु छ ।

नेपालले सन् २०१८ को अक्टोर १६ मा महासन्धिलाई अनुमोदन गरेर सोही वर्षको डिसेम्बर १५ बाट लागु गरेको हो । यही महासन्धि अनुसार ऐन बनाएर आन्तरिक उडानमा पनि यात्रुले पाउने बिमा दाबी, ब्यागेजको क्षतिपूर्ति, जहाज डिले हुँदा पनि क्षतिपूर्ति दाबी गर्न सक्ने व्यवस्था गर्न खोजिएको पर्यटन मन्त्रालयको भनाइ छ । बिमा रकम बढाउँदा प्रिमियम पनि बढ्ने भएकोले कम्पनीहरुलाई मार नपर्ने गरी १ लाख डलरमात्रै प्रस्ताव गर्न खोजिएको पनि मन्त्रालयको भनाइ छ ।

सहजै दाबी गर्न पाइने

पर्यटन मन्त्रालयले तयार पारेको हवाई यातायात सेवा सञ्‍चालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्ने विधेयकको मस्यौदा अनुसार नेपालले आन्तरिक उडानमा वार्सा कन्भेन्सन १९२९ को प्रावधानलाई लागु गरिरहेको छ । यो प्रावधानअनुसार अहिले कुनै पनि आन्तरिक उडानका जहाज दुर्घटन हुँदा यात्रुले ज्यान गुमाएको अवस्थामा बिमा कम्पनीबाट २० हजार डलर क्षतिपूर्ति पाउछन् । यसको लागि सम्बन्धित जहाज र बिमा कम्पनीले सहजीकरण गर्ने भएकोले बिमा रकम यात्रुलाई दिन गाह्रो नभएको आन्तरिक वायुसेवा कम्पनीको भनाइ छ ।

यात्रुलाई यात्राको क्रममा चोटपटक मात्रै लागेपछि बिमा दाबी गर्न सकिन्छ । यसका लागि सोको उपचार तथा क्षतिवापतको रकम दाबी गर्न सम्बन्धित वायुसेवा कम्पनी हुँदै बिमा कम्पनी पुग्नुपर्छ । यसको लागि प्रमाण पुर्‍याएर ६० दिनभित्र बिमा रकम दाबी गर्न सकिन्छ । दाबी परेको ६० दिनभित्र सम्बन्धित वायुसेवा कम्पनीले क्षतिपूर्तिका सम्बन्धमा निर्णय दिने गरेका छन् । यात्रुको मृत्यको हकमा पनि दाबी रकम लिन वायुसेवाले नै सहजीकरण गर्ने र बीमा कम्पनीबाट पनि सहयोग नै हुँदै आएको आन्तरिक वायुसेवा कम्पनीको भनाइ छ ।


राजु बास्कोटा