बैंकिङ क्षेत्रबारे गलत सूचना फैलाउने र समाज भड्काउनेलाई कारबाही गर्न माग



काठमाडौं । बैंकिङ क्षेत्रका चार वटै संगठनले समाजमा गलत सूचना फैलाउने र समाजलाई भडकाउने कार्यमा लाग्नेलाई कारबाही गर्न माग गरेका छन् ।

आइतबार बैंकर्स संघ, नेपाल वित्तीय संस्था, डेभलपमेन्ट बैंकर्स एशोसिएसन र नेपाल लघुवित्त बैंकर्स संघले विज्ञप्ति जारी गरेर बैंक विरुद्ध समाज भडकाउनेलाई कारबाही गर्न बैंकिङ क्षेत्रका चार वटै संगठनले माग गरेका छन् ।

‘आमसर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारी निकायलाई आग्रह गर्दछौ’ जारी विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय सामाजिक संजालहरुमा बैंकिङ क्षेत्रका बारेमा देखिने आधारहीन, गलत तथा भ्रामक टिप्पणीमा ध्यान नदिन बैंकसंघहरुले आग्रह गरेका छन् ।

जारी संयुक्त विज्ञप्तिमा सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना÷समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिन सबैमा अनुरोध गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा ५ करोड ३५ लाखभन्दा धेरै निक्षेप खाताहरु र १८ लाख भन्दा धेरै कर्जा खाताहरु संचालनमा रहेको जनाएका छन् । देशका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुले मुलुकको कुल ग्राहस्थ उत्पादनभन्दा धेरै निक्षेप संकलन तथा लगभग कुल ग्राहस्थ उत्पादन बराबरको कर्जा प्रवाह तथा अन्य बैंकिङ्ग सेवाहरु आफ्ना ६४४१ शाखाहरु मार्फत देशभर प्रदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।

देशको दुर दराजमा गई ५७ वटा लघुवित्त संस्थाहरुले २८ लाख भन्दा धेरै स-साना ऋणीहरुलाई ४ खर्ब भन्दा धेरै ऋण प्रवाह गरी आर्थिक रुपान्तरणमा अहम भूमिका खेलेको जनाएको छ ।

सबै संस्थाहरुले ८२ हजार भन्दा धेरै कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी दिइरहेको जनाएको छ । आर्थिक बर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुले सरकारलाई ३१ अर्बभन्दा धेरै राजश्व बुझाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व बमोजिम बैंक तथा वित्तीय क्षेत्रहरुले ७७ करोडभन्दा धेरै विविध सामाजिक कार्यहरुमा खर्च गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्त लगायतलाई आत्मसात गर्दै राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै, नेपालको बैंकिङ्ग क्षेत्र उदाहरणको रुपमा स्थापित भएको जनाएको छ ।

राष्ट्र बैंकको सुक्ष्म निगरानी र त्यसको नीतिरनियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै आएको बैंकिङ्ग क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको जनाएको छ ।

‘नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको जनाएको छ । यस संघहरुसंग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत् सुरक्षण गरिएको स्मरण गराउँदछौं’ जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु