भ्रष्टाचारमा मुछिएको भन्दै पर्यटन मन्त्री किराँती र स्वास्थ्य मन्त्री बस्नेतलाई कारबाही गर्न एमालेको माग



काठमाडौं । नेकपा एमालेले वर्तमान सरकारका मन्त्रीहरु भ्रष्टारमा मुछिएको भए पनि प्रधानमन्त्री सुशासनको भाषण गरेर नथाकेको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा एमालेका सचेतक महेश बर्तौलाले भ्रष्टाचारमा संलग्न मन्त्रीहरुलाई छेउमा राखेर प्रधानमन्त्रीले सुशासनको रटान लगाइरहेको भन्दै ति मन्त्रीहरुको राजीनामा माग गरे । आइतबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदको जवाफ दिने कार्यक्रम रहेको छ ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत अख्तियारको छानबिनमा रहेको भन्दै उनले भ्रष्टाचारमा जोडिएका मन्त्रीलाई छेउमा राखेर प्रधानमन्त्रीको सुशासनको भाषण सुन्न नसकिने बताए ।

टेरामक्स भ्रष्टाचार प्रकरणमा मन्त्री बस्नेतले अख्तियारमा बयान दिइरहेको र उनी भ्रष्टाचारका आरोपी भएकाले मन्त्री पदमा रहन नमिल्ने एमालेको भनाइ छ ।

बर्तौलाले पर्यटनमन्त्री सुदन किराँती भ्रष्टाचारमा संलग्न रहेको भनेर अनुसन्धानमा आइसकेको भन्दै उनलाई पनि कारबाही गर्न माग गरे ।

किराँती अध्यक्ष रहेको लुम्बिनी क्षेत्र विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको रामग्रामको जग्गा प्रधानमन्त्री प्रचण्डका घरबेटीका छोरालाई गैरकानूनीरूपमा लिजमा दिने निर्णय गरेको र चौतर्फी बिरोधपछि अहिलेलाई रोकिएको भन्दै मन्त्रीलाई कारबाही गर्न माग गरे ।

‘ लुम्बिनीको रामग्राम क्षेत्रमा घरबेटीका छोरालाई खुसी पार्न निजी कम्पनी खडा गरेर ९९ वर्षका लागि निजी क्षेत्रलाई दिन खोजियो,’ उनले भने, ‘संसदको लेखा समितिले अघि नबढाउन भन्यो र रोक्यो । यो विषयमा मन्त्रीज्यूले जिम्मेवारी लिनु पर्छ कि पर्दैन? प्रधानमन्त्रीको सुशासनको अर्थ यही रहेछ ।’


क्लिकमान्डु