३५ हजार लगानी गरेर अर्बपति बनेका मिनबहादुर गुरुङको ओरालो यात्रा, के होला भाटभाटेनीको भविष्य ?



छाटो समयमै उनले नसोचेको सफलता प्राप्त गरे । व्यावारिक साम्राज्य त विस्तार गरे । तर त्यसमा टिकिरहन भने सकेनन् । एकपछि अर्को गैरकानूनी काममा दोषी ठहरिँदै गएका गुरुङप्रति सहानुभूति राख्ने धेरै भए पनि विगतमा गरेको उनको कर्मको विषाक्त फल अब उनले मात्रै खानुपर्ने भएको छ ।

भनिन्छ नि- उचाइमा पुग्न जति कठिन छ, त्यो भन्दा कठिन हुन्छ उचाइमा टिकिरहन ।

उचाईमा पुग्नका लागि गरेका गल्ती, कमी कमजोरीहरुले पहिलो पुस्ताका धेरै नेपाली व्यवसायीहरुलाई शिखरमा टिक्न दिएन । त्यसको पछिल्लो उदाहारण हुन् भाटभाटेनीका मिनबहादुर ।

सुपरमार्केटका ट्रेन्ड सेटरसमेत रहेका गुरुङ छिट्टै अर्बपति हुने व्यवसायीको सूचिमा परेका थिए । सफल व्यवसायीको पहिचान बनाएका गुरुङ कारोबारको आकार बढेसँगै विवादास्पद बने । तल्लो वर्गबाट एक्कासी माथिल्लो बर्गमा उक्लिँदाको भारले उनलाई नराम्रोसँग थिच्यो ।

कमल ज्ञवाली, सुधीर बस्नेत, इच्छाराज तामाङपछि मिनबहादुर गुरुङको ओरालो यात्रा सुरु भएको छ । यो सँगै गुरुङले विस्तार गरेको अर्बौंको राम्म्राज्य कस्ले सम्हाल्ला ? र, भाटभाटेनीको भविष्य के होला ? भन्ने चासो कर्पोरेट जगतमा निकै धेरै छ ।

गुरुङ ललिता निवासको सरकारी जग्गा व्यक्तिको नामा ल्याउने योजनाकारः २ वर्ष कैद, ८० लाख जरिवाना

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याएको अभियोगमा २०७६ माघ २२ मा ११० जनासँग बिगो र कैद तथा ६५ जनाबाट जग्गा जफत गर्नेसम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो । भाटभोटेनीका सञ्चालक मिनबहादुर गुरुङलाई अख्तियारले निवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउने योजनाकार भएको दाबी गरेको थियो ।

हेर्दा साझा देखिने गुरुङ सरकारी जग्गा व्यक्तिको नममा ल्याउने योजनाकार होलान् भनेर धेरैले अनुमान गरेका थिएनन् ।

तर, विषेश अलालतले २०८० फागुन ४ गते ललितानिवास जग्गा प्रकरणमा उनै गुरुङलााई दोषी ठहर गर्दै २ वर्ष कैद र र बिगोबमोजिम ८० लाख ४८ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको छ । गुरुङलाई ललिता निवासको सरकारी जग्गा हडपेको प्रकरणमा प्रहरीले पक्राउ गरि ७६ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो । ललितानिवासको जग्गा किनेका आधारमा नभइ गुरुङलाई योजनाकारका रुपमा अदालतले दोषी ठहर गरेकाले आगामी दिनमा उनीप्रतिको विश्वास पहिलेजस्तो हुनेछैन ।

नक्कली भ्याट विल जस्तो गम्भीर अपराधमा दोषी ठहर, अढाई अर्ब तिर्नुपर्ने

गत माघ १६ गते सर्बोच्च अदालतले भाटभाटेनी डिपार्टमेन्ट स्टोरले नक्कली भ्याट विल प्रयोग गरी कर छलि गरेको ठहर गरेको थियो । र्बोच्चका न्यायाधीशहरु डा. कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्णइजलासले भाटभाटेनीलाई दोषी ठहर गरेको हो ।

नक्कली भ्याट बिल प्रकरणमा लगातार ५ वर्षसम्म सुनुवाइ गर्दै तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले २०७६ पुस २६ गते अन्तिम फैसला सुनाउँदै भाटभटेनीलाई दोषी ठहर गरेको थियो ।

सर्वोच्चको उक्त फैसलाको पूर्णपाठ झण्डै एक वर्षपछि सार्वजनिक भएसँगै २०७७ फागुन ३ गते भाटभटेनीले सर्वोच्चमा पुनरावेदन दर्ता गराउँदै राजस्व तिर्न अस्वीकार गरेको थियो । गत माग १६ गतेको पूर्णइजलासले भाटभटेनीलाई सफाइ दिन अस्वीकार गरेसँगै उसले राजस्व ब्याज र जरिवानासहित बुझाउनुपर्ने छ ।

यो फैसलापछि भाटभटेनीले झन्डै अढाई अर्ब रुपैयाँ हाराहारीको रकम बुझाउनुपर्ने देखिएको छ । २०७६ सालमै दोषी ठहरिएका गुरुङ कानुन व्यवसायीको गलत सुझाव मानेर सर्बोच्चमा पुनरावेदनमा जाने गलत निर्णय गरेका थिए । त्यसबेलै तिरेका भए १ अर्ब रुपैयाँ मात्रै खर्च हुन्थ्यो ।

नक्कली भ्याट विलको प्रयोग निकै गम्भीर अपराध हो । आयकरमा विवाद भएको भए सामान्य मान्नु हुन्थ्यो । भ्याट विल नै नक्कली प्रयोग गरिएको विषयमा दोषी ठहरिएसँगै गुरुङको नियतमै समस्या रहेको प्रष्ट देखिन्छ ।

बालेनको डोजर

अवैध संरचना हटाउन काठमाडौं महानगरपालिकाले कोटेश्वरस्थित भाटभटेनीको बेसमेन्ट खाली गरेको छ । महानगरले २०७९ भदौ २६ गते भाटभाटेनीमा डोजर चलाएको थियो । पार्किङका लागि भन्दै नक्सा पास गरेर बेसमन्टमा अन्य व्यावसाय सञ्चालन गरेका कारण महानगरले भाटभटेनीको बेसमेन्ट खाली गरेको हो ।

मेयर बालेन शाह आफैं उक्त क्षेत्रमा पुगेर पटक पटक संरचना हटाउन गरेको आग्रह नटेरेपछि डोजर चलाएको हो । सुरुमा अवैध संरचना बनाए पनि मेयरको आग्रह टेरेका भए भाटभाटेनीमा डोजर चल्ने थिएन ।

अखाद्य वस्तु बेचेकोमा कारबाही

२०८० असोजम २ गते जिल्ला प्रशासन कार्यालय ललितपुरले भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई १ लाख रुपैयाँ जरिवाना गरेको थियो । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले मानभवनस्थित कृष्णगल्लीमा रहेको भाटभटेनी, विग मार्ट र पुल्चोकको सेलवेज डिपार्टमेन्ट अनुगमन गरेको थियो । अनुगमनका क्रममा म्याद सकिएको घिउ, अण्डा बिक्री गरेको पाइएपछि भाटभटेनीलाई एक लाख रुपैयाँ जरिवाना गरिएको थियो । त्यस्तै हेटौंडाको भाटभटेनीले मूल्य र मिति नराखेको, चिनी र नुन पुनःप्याकिङ गरेको पाइएपछि २०७९ पुस १४ गते साढे २ लाख जरिवाना गरेको थियो ।

महत्वाकांक्षा पूरा गर्न सत्ताको आडमा कानूनको तिलाञ्जली

गुरुङ अति नै महत्वाकांक्षी थिए । उनले आफ्नो महत्वाकांक्ष पूरा गर्न राज्यसत्ता र शक्तिको भरपूर उपयोग गरे । सत्ताको आडमा उनले नियम कानूनलाई तिलाञ्जली दिए । अहिल त्यसैको परिणाम भोग्नु परेको हो । गुरुङमाथि माओवादी र प्रचण्डको पैसा चलाएर रातारात धनी बनेको आरोप लाग्दै आएको थियो । तर, बिडम्बना उनै प्रचण्ड प्रधानमन्त्री भएका बेला दुईवटा मुद्दामा दोषी ठहर भए ।

‘गुरुङजीले देशका कहलिएका व्यक्तिहरुको पनि मोटो रकम चलाउनु भएको छ,’ उनलाई नजिकबाट चिन्ने एक व्यवसायीले भने, ‘त्यसरी चलाउन पाएको पैसाले नै उहाँ यति छिट्टै अर्बपति बन्नु भएको हो । पाएँ भन्दैमा नेताको विषालु पैसा जथाभावी चलाउनु हुँदै भन्ने कुरा व्यवसायीले बुझ्नुपर्छ ।’

२०७८ कात्तिक ११ गते नक्सालस्थित भाटभटेनी सुपरमार्केटको प्रांगणमा आयोजित क्यूआर कोड स्क्यान शुरुवातको कार्यक्रममा बोल्दै गुरुङले आफ्नो लक्ष्य भाटभटेनीलाई सबैभन्दा बढी कर तिर्ने संस्था बनाउने लक्ष्य रहेको बताएका थिए ।

‘अहिले हाम्रो कारोबार २५ अर्ब रुपैयाँ पुगेको छ, ५० अर्ब भएपछि सर्वसाधारणलाई सेयर निष्कासन हुन्छ,’ गुरुङले केही समय अगाडि क्लिकमान्डुसँग भनेका थिए ।

यसरी सुरु भएको थियो भाटभाटेनी

दूर्गम पहाडी जिल्ला खोटाङ्गको एक विकट गाउँमा मध्यम बर्गीय किसान परिवारमा २०१४ सालमा जन्मिएका गुरुङ्गले विद्यालयस्तरको शिक्षा गाउँमै पाए । एसएलसी पश्चात महेन्द्र बहुमुखी क्याम्पस धरानबाट आईए पास गरि २०३१ सालमा उनी काठमाण्डौ प्रवेश गरे । २०३२ सालमा खुल्ला प्रतिस्पर्धाबाट नेपाल बैंकमा कार्यसहायक पदमा जागिर शुरु गरे ।

बैंकको जागिरमा मात्र उनी भुलेनन् । २०३४ सालमा त्रि-चन्द्र कलेजको रात्रीकालिन कक्षामा भर्ना भई आफ्नो अध्ययनलाई निरन्तरता दिई बीए पास गरे । केहि समय बेतलबी विदा समेत लिई उनले त्रिभुबन विश्वविद्यालय केन्द्रिय क्याम्पस किर्तिपुरबाट २०३९ सालमा अर्थशास्त्रमा एमए पास गरे ।

२०५० सालमा नेपाल बैंकको सहायक प्रबन्धक पदबाट राजीनामा गरेर जागिर छाडे । जागिर पश्चात भाटभटेनी, नक्सालमा सामान्य तर सम्पूर्ण उपभोग्य सामानहरुको खुद्रा बिक्रिकक्ष सहितको डिपार्टमेन्टल स्टोर खोलेर ब्यवशायमा लागे । उनी रुपमा उद्यमीरव्यापारी बने ।

भाटभटेनी सुपरमार्केट, २०५० साल भाद्र १ गते बिधिवत उद्धघाटन भयो ।

२०४१ सालमा भाटभाटेनी मन्दिर छेउमै १० वाई १२ को एउटा सानो कोठामा ३५ हजार रुपैयाँ लगानी गरेर एउटा किराना पसल खोले । गुरुङ्गकी पत्नीले भाटभटेनीमा उक्त खुद्रा पसल कोल्डस्टोर सञ्चालन गदै आएकी थिईन् । ब्यापारको त्यही अनुभवले जागिर गरेर मात्र जीवन निर्वाह मात्र हुन्छ, केही गर्न सकिन्न भन्ने बुझेर उनी जागीर छाडेर व्यापार व्यावसायमा लागे। उसो त जागिर गर्दा गर्दै पनि उनले पत्नीले शुरुगरेको पसलमा विहान, बेलुकी र विदाको समयमा पर्याप्त समय दिंदै आएका थिए । तर, जुन दिन उनले नेपाल बैंकको जागिर छाडे, त्यसै दिनदेखि उनी आफ्नो व्यापारमा पूर्णकालिन बनेर लागे ।

३९ वर्षअघि ३५ हजार रुपैयाँ लगानीमा शुरु भएको भाटभटेनीले हाल देशका विभिन्न स्थानमा दुई दर्जन आउटलेट सञ्चालन गर्दै आएको छ । हाल कम्पनीमा १५ लाख सक्रिय सदस्य छन् भने दैनिक औसतमा ५० हजार पटक कारोबार हुँदै आएको छ । भाटभटेनीले वार्षिक २५ अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ ।

शुरुवाती समयमा एकजना कर्मचारी राखेर कोल्ड स्टोर सञ्चालन भएको भाटभटेनी सुपरमार्केटमा हाल ७ हजारभन्दा बढी कर्मचारीले रोजगारी पाएका छन् ।

देशका प्रायजसो आर्थिक हबमा भाटभटेनीको उपस्थिति छ । भाटभटेनी र गुरुङले बैंक तथा वित्तीय संस्थाबाट मात्रै झन्डै साढे १३ अर्ब रुपैयाँ ऋण लिएका छन् । उनलाई नजिकबाट चिन्नेहरुका अनुसार सहकारी र व्यक्तिसँग पनि उनले ठूलो रकम ऋण तथा सापटीको रुपमा चलाएका छन् । यस आधारमा विश्लेषण गर्दा गुरुङसाग् १४ अर्ब रुपैयाँको हाराहारीमा ऋण भएको हुनसक्छ ।

त्यसो त पछिल्ला वर्षहरुमा उनको ब्यापारको पारो ठाडो उकालो मात्रै लाग्दै आएको थियो । सन् २०१७ मा ११ अर्ब १७ करोड कारोबार गरेको भाटभटेनीले सन् २०२० मा १९ अर्ब ३६ करोड रुपैयाँको कारोबार गरेको थियो । केही समयअघि क्लिकमान्डुलाई गुरुङले बताए अनुसार सन् २०२२ मा भाटभटेनीले २५ अर्ब रुपैयाँको कारोबार गरेको छ ।

के होला भाटभटेनीको भविष्य ?

फस्ट जेनेरेशनका व्यवसायीहरु विवादमा आउँदा वा कुनै सजायको भागेदारी हुँदा उसले खडा गरेको साम्राज्य भताभुंग भएका धेरै उदाहारण छन् नेपालमा । सुधीर बस्नेत, इच्छाराज तामाङ हुन् वा कमल ज्ञवाली । उनीहरु पक्राउ परेपछि उनीहरुले खडा गरेका साम्राज्य ढलेका छन्।

कमल ज्ञवाली जेल परेपछि त्यसबेलाको चर्चित किष्ट बैंकले आफ्नो अस्तित्व प्रभु विकास बैंकमा विलय गर्यो । त्यस्तै, सुधीर बस्नेतका कारण ओरियन्टल सहकारी मात्रै डुबेन, निर्माणाधीन भेगास सिटी लगायतका थुप्रै रियलस्टेट प्रोजेक्टहरु समाप्त भए । त्यस्तै, इच्छाराज तामाङ जेल परेपछि सिभिल सहकारी पतनको बाटोमा गयो भने उनी अध्यक्ष रहेको सिभिल बैंक आफ्नो अस्तित्व समाप्त गदैए हिमालयन बैंकमा बिलय भयो । उनीहरुका निजी व्यवसाय बन्द छन् ।

फस्ट जेनेरेशनका व्यवसायीको प्रणली बनिसकेको हुँदैन । उनीहरु एक्लैले सबै निर्णय गर्छन् । र, व्यक्ति डुब्दा सबै संस्था पनि डुब्ने गरेको देखिन्छ । मिनबहादुर गुरुङ पनि त्यस्तै हुन् । भाटभटेनीमा उनको एकल निर्णय चल्थ्यो ।

गुरुङ अब २ वर्ष जेल बस्नुपर्ने भएको छ । जेलभित्र बसेर बैंकबाट लिएको ऋणको सावाँब्याज कसरी भुक्तानी गर्लान् ? बैंकले उनका सम्पत्ति लिलामी गरेर असूल गर्नुपर्ने बाध्यता आउँछ । त्यो बेला गुरुङ शून्यमा झर्ने देखिन्छ ।

गुरुङकी श्रीमती सावित्री गुरुङ, छोरा कल्याण गुरुङ, भाई पहलमान गुरुङ र छोरी कामना सबैजना भाटभाटेनीको व्यवसाय हेर्न सक्रिय छन्। भाटभटेनीमा गुरुङको ६० प्रतिशत तथा उनकी श्रीमति सावित्री गुरुङ घलेको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ । भाटभटेनीले ३७ प्रतिशत लगानी काठमाडौं स्टिलमा गरेको छ । उक्त कम्पनीमा नेपाल बैंकले डेढ अर्ब रुपैयाँ लगानी गरेको छ । यसबाहेक मिनबहादुर गुरुङले विभिन्न बैंक तथा वित्तीय संस्थामा समेत लगानी गरेका छन् । कुमारी, प्रभु, ग्लोबल लगायतका विभिन्न बैंकहरुमा उनको अर्ब बढीको लगानी छ ।

तर, त्यो लगानी र व्यावारिक साम्राज्य सम्हाल्न गुरुंग परिवारलाई निकै कठिन हुने देखिन्छ ।


सोभित थपलिया