नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकासका लागि समझदारी



काठमाडौं । नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकास गर्नका लागि दुई पक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई)र नेपालको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)बीच द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको हो ।

नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र भारतीय केन्द्रीय बैंक भारतीय रिजर्भ बैंक (आरबीआई)ले बहीबार समझदारी पत्रमा हस्ताक्षर गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासको उपस्थितिमा भारतको मुम्बइमा समझदारीमा हस्ताक्षर भएको हो ।

राष्ट्र बैंकले नेपाल र भारतबीच सहज, सुलभ र सुरक्षित विद्युतीय भुक्तानी प्रणालीको विकास गर्ने उद्देश्यले यो समझदारी भएको जनाएको छ ।

सरकारले यसअघि नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी जनवरीको अन्त्यबाट सुरु गर्ने बताएको थियो । गत जेठमा भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी हुने सम्झौता भएको थियो ।

सम्झौतापश्चात आवश्यक पूर्वाधार निर्माणमा लागेको नेपाल राष्ट्र बैंकले आज भारतीय रिजर्भ बैंक (आरबीआई)सँग समझदारी गरेको हो । समझदारी भएसँगै भारतसँगको डिजिटल भुक्तानी हुने बाटो एक कदम अघि बढेको छ ।


क्लिकमान्डु