काठमाडौं महानगरले सार्वजनिक स्थानमा २ हजार डस्टबिन राख्दै



काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा कुहिने तथा नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्ने गरि करिब २ हजार बिनहरु राख्ने भएको छ ।

महानगरले सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गर्ने कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न १ हजार ९५० सेट संकलन बिन राख्ने भएको हो । सेटमा कुहिने फोहोरका लागि हरियो र नकुहिने फोहोरका लागि रातो बिन गरि दुई बिनहरु रहेका छन् ।

महानगरपालिकाकाल वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार उत्पादन भएकै ठाउँमा फोहोरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको हो ।

उनले भने, ‘स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन भयो भने व्यवस्थापनमा सहज हुन्छ । महानगरपालिका सबै ठाउँमा एक पटक काम गर्दा परिणाम प्राप्त गर्न कठिन हुने भएकाले नमुनाका रुपमा हामीले वडा नम्बर २७ बाट वर्गिकरण भएको फोहोर मात्र संकलन गर्न लागेका छौं ।’

वडा नम्बर २७ मा घरदैलो कार्यक्रममार्फत उत्पादकलाई वर्गिकरण बिधिमा सचेत गराउने र छुट्टा छुट्टै संकलन गर्न रंग संकेतसहितको सवारी साधन तयारी गरिएको श्रेष्ठले बताए ।

महानगरले राख्ने बिन सेटहरु दुई प्रकारका रहेका छन् । पहिलो सेट केही सानो र बिनको क्षमता ७० लिटर रहेको छ भने दोस्रो किसिमको सेट मध्यम आधारको र १२५ लिटर क्षमताको रहेको छ ।

महानगरले राख्ने बिन सेटहरुलाई फोहोर व्यवस्थापनमा सहज हुने गरि वडासँग समन्वय गरेर राखिने र यसको जिम्मा फोहोर व्यवस्थापनमा खटिने नाइकेहरुलाई दिइने श्रेष्ठले बताए । हरेक सेटमा नम्बर भएका कारण कुन सेट कसको जिम्मेवारीमा छ भनेर निगरानीमा पनि सहज हुने उनले बताएका छन् ।


क्लिकमान्डु