राजनीतिक र आर्थिक रूपमा जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्नेलाई दण्ड हुनुपर्छ: थापा



काठमाडौं । नेपाली कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले सरकारी जग्गा हडप्ने व्यक्ति राजनीतिक र आर्थिक रुपमा जतिसुकै शक्तिशाली भए पनि कारबाही हुनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद थापाले राजनीतिक र आर्थिक शक्ति हेरेर कानुन मिच्नेलाई छुट दिन नहुने बताए ।

‘जोसुकै होस्, जतिसुकै शक्तिशाली होस्, राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस्, नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनु पर्दैन ? दण्ड पाउनु पर्दैन ?,’ थापाले भने, ‘सुशासनको आजको दिनको मन्त्र भनेको कानुन, विधिको शासन चाहे जग्गा मिच्ने होस्, जग्गा हडप्ने होस्, चाहे नागरिकताको किर्ते गर्ने होस्, चाहे सहकारीमा ठग्ने होस्, यताको होस् कि उताको होस्, जुनसुकै दलको होस्, दलभन्दा बाहिरको होस्, जतिसुकै शक्तिशाली होस् कसैले पनि उन्मुक्ति पाउनुहुन्न ।’

एउटा नागरिकले जे गर्दा दण्ड पाउँछ शक्तिशालीलाई पनि सोही अनुसारको कानुन लागू हुनुपर्ने र त्यसो भए मात्र सरकारमाथि विश्वासको वातावरण बन्न सक्ने थापाको भनाइ छ ।

‘एउटा नेपाली नागरिकले जे गर्दा दण्ड पाउँछ शक्तिशालीलाई पनि कानुन त्यसरी नै लागु हुनुपर्छ । जुनसुकै अर्थमा पनि नेपाल सरकारले यो बाटो समात्दै गयो भने बल्ल विश्वासको वातावरण बनाउन सक्छ’ थापाले भने ।

घटना हेरेर, प्रकरण हेरेर आफ्ना निर्णय र मतहरू बनाउन नहुने उनले बताए ।

राजनीतिक, पदीय वा आर्थिक शक्तिले कानुन कार्यान्वयनमा प्रभाव पार्न नहुने थापाको भनाइ थियो ।


क्लिकमान्डु