ठूला लगानीकर्ता सक्रिय हुँदा सेयर धितोमा बैंकले ६ महिनामा दिए ८ अर्ब कर्जा



काठमाडौं । सेयर बजारमा ठूला लगानीकर्ता फेरि सक्रिय हुन थालेका छन् । ठूला लगानी सक्रिय हुँदा नेप्से सूचक पनि केही बढेको छ भने बैंकले दिने ऋण पनि बढेको छ ।

२०८० साउन १ गतेदेखि पुस २९ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा दिने कर्जा ७ अर्ब ९८ करोड २० लाख रुपैयाँ अर्थात् १०.५ प्रतिशतले बढेर कुल ८४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । जबकी, पुस महिनामा मात्रै बैंकहरुले दिने सेयर कर्जा ३ अर्ब १० करोड रुपैयाँले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १ करोडभन्दा बढी सेयर कर्जा ६ अर्ब ५८ करोड ८४ लाख रुपैयाँले बढेर ५१ अर्ब ३० करोड ४५ लाख रुपैयाँ पुगेको छ । जबकी, गत आर्थिक वर्षको यसै अवधिमा १ करोडभन्दा माथिको सेयर कर्जा ३ अर्ब ६६ करोड रुपैयाँले घटेर ४२ अर्ब ९१ करोड रुपैयाँमा झरेको थियो ।

राष्ट्र बैंकले गत असोज तेस्रो साता १२ करोडको सीमा हटाउने र ५० लाख रुपैयाँभन्दा माथिको सेयर कर्जाको जोखिम भार घटाएर १५० बाट १२५ प्रतिशतमा झारेको थियो । राष्ट्र बैंकको यो नीतिका कारण सेयर बजारमा ठूला लगानीकर्ता केही आकर्षित भएका हुन् । कात्तिक र मंसिरमा उक्त नीतिको प्रभाव खासै नदेखिए पनि पुसमा भने देखिएको छ ।

यो ६ महिनाको अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर कर्जा १ अर्ब रुपैयाँले, २५देखि ५० लाखसम्मको २५ करोड करोड र २५ लाख रुपैयाँसम्मको कर्जा १३ करोड रुपैयाँले बढेको छ । तर, यो अवधिमा १ करोडभन्दा बढीको सेयर कर्जा ३ अर्ब ६६ करोड रुपैयाँ अर्थात् १४ प्रतिशतले बढ्नुले बजारमा ठूला लगानीकर्ताले लगानी बढाएको देखिन्छ । पुसमा सेयर कर्जा मात्रै बढेको छैन, नेप्से सूचक पनि बढेको छ ।


क्लिकमान्डु