काठमाडौं । जिल्ला अदालत काठमाडौंले बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी अरुण चौधरीसहित तीनजनालाई दुई दिनभित्र छाड्न आदेश दिएको छ।
दोस्रो पटक म्याद थपका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार अदालतमा उपस्थित गराउँदा अदालतले दुई दिन म्याद दिँदै यो अवधिमा पनि अनुसन्धान नसकिए उनीहरुलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो।
गत बिहीबार च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालकसमेत रहेका उद्योगी अरुण चौधरी, च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक सञ्जय ठाकुर र बाँसवारी छाला तथा जुत्ता कारखानाका पूर्वअध्यक्ष अजितनारायण थापालाई सीआईबीले पक्राउ गरेर अनुसन्धान थालेको थियो । अदालतले पहिलो पटक चार दिनको म्याद दिएको थियो। यस अवधिमा अनुसन्धान नसकिएको भन्दै सीआईबीले सोमबार फेरि थप म्याद मागेको थियो।
तर अदालतले दुई दिनभन्दा बढी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएको हो।
‘प्रतिवादीहरुको अनुसन्धान समक्षको बयान कार्य सम्पन्न भएको हुँदा केही थप बुझ्नु पर्ने, कागज गराउनु पर्ने भएमा त्यस सम्बन्धमा बुझी, कागज गराउनको लागि मिति २०५०।१०।२२ गते देखि लागु हुने गरी दुई दिनको म्याद थप गरी दिएको छ। यी प्रतिवादीहरुबाट थप बुझ्नु पर्ने वा कागज गराउन नपर्ने भएमा सो अगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाडन सक्ने र सो नभएमा म्याद थप भएको दुई दिन भित्र यी प्रतिवादीहरुबाट अव बुझ्नु पर्ने बाँकी काम सम्पन्न गर्ने गरी सम्पन्न हुन नसक्ने भएमा निजहरुलाई अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी वाकी अनुसन्धानको कार्य पुरा गर्नु भनि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४९६० बमोजिम यो आदेश गरी दिएको छ’, अदालतको आदेशमा भनिएको छ ।
सरकारको निर्णयबिना सञ्चालक समितिलाई कारखानाको नाममा स्रेस्ता कायम भएको जग्गा बेचबिखन गर्ने कुनै अधिकार नभए पनि तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापाले १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई दिने निर्णय गरेको आरोप छ।
प्रतिक्रिया