आज देशभरका फिल्म हल बन्द



काठमाडौं । सोमबार (आज) देशभरका फिल्म हल बन्द भएका छन् ।

नेपाल चलचित्र संघले सरकारले लगाएको विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको भन्दै सांकेतिक रूपमा देशभरी फिल्म हलहरू बन्द गर्ने निर्णय गरेको हो ।

मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहितविपरीत थप कर लगाइएको आरोपसमेत संघले लगाएको छ ।

संहिताविपरीत लगाइएको चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन करलगायतका विभिन्न अव्यवहारिक करले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको जनाउँदै संघले मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक करको खारेजीको माग गरेको छ ।

कोरोना महामारीअघि देशमा ४५० वटा चलचित्र हल सञ्चालनमा रहे पनि हाल १५० मात्र हल सञ्चालनमा रहेको समेत संघले जनाएको छ ।

संघको निर्णयमा ऐक्यबद्धता जनाउँदै क्युएफएक्सले पनि आफ्नो सबै हल सोमबार बन्द रहने बताएको छ । ‘मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरूको खारेजीको माग गर्दै सोमबार माघ २२ गते सम्पूर्ण हल बन्द रहनेछ । साथै दर्शकमा पर्न गएको असुविधा प्रति हामी क्षमा प्रार्थी छौ,’ क्युएफएक्सले भनेको छ ।


क्लिकमान्डु