संसदको हिउँदे अधिवेशन सोमबारदेखि सुरु, बन्लान त नयाँ कानून ?



काठमाडौं । संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन सोमबारदेखि शुरु हुदैछ ।

संसदको हिउँदे अधिवेशन शुरु हुने पूर्वसन्ध्यामा दलहरुले आ-आफ्नो तयारी पनि गरिरहेका छन् । कतिपय दलहरुले यस बीचमा संसदीय दलको बैठक सम्पन्न गरिसके भने केहीको संसदीय दल बैठक चलिरहेको छ । दलहरुले संसदको यस अधिवेशनमा गर्ने कामहरु, दलको तर्फबाट प्रश्तुत गर्ने विषयहरु तथा सांसदहरुले राख्ने विषयहरुको सम्बन्धमा आ–आफ्नो तयारी गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अधिवेशनमा सुशासनको मुद्दालाई पहिलो मुद्दा बनाएर प्रस्तुत हुने तयारी गरेको छ । देशमा भ्रष्टाचार बढेको र जनतामा निराशा बढेको एमालेको ठम्याइ छ । सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुन नसकेको कारण देशमा भ्रष्टाचार बढिरहेको भन्दै एमालेले सुशासनको मुद्दालाई प्राथमिकताका साथ उठाउन लागेको हो ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुशासनको मुद्दालाई आफूहरुले पहिलो मुद्दा बनाउने बताए । उनले देशको विकास, सुशासन र समृद्धिको सवालमा एमालेले निरन्तर रुपमा सशक्त ढंगले आवाज उठाउने बताए । उनले अहिले देशको राष्ट्रिय स्वाधिनता इतिहासमा सबभन्दा कमजोर स्थितिमा रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ताको विषयलाई पनि प्रमुख एजेण्डा बनाउने बताए । धेरै भन्दा धेरै ऐन, कानूनहरु निर्माण गर्न संसदलाई केन्द्रित गराउने पनि उनको भनाइ छ ।

नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसदले कानून बनाउने काम पाउनुपर्नेमा आफूहरु सचेत रहेको बताए । उनले विगतमा सरकारले संसदलाई भुमिका बिहीन बनाएको भन्दै आगामी दिनमा पनि त्यसो गरिए सशक्त प्रतिवाद गरिने चेतावनी दिए । सरकारले संविधान र कानून विपरित गरेका गतिविधिहरुको संसदमार्फत भण्डाफोर गरिने पनि उनले बताए । उनले पनि देशको स्वाधिनता, सार्वभौमसत्ता र स्वाभिमान माथि नै प्रश्न उठ्नेगरी विदेशीहरुले नेपालको मञ्च प्रयोग गरिरहेको भन्दै यसमा पनि संसदबाट खबरदारी गरिने बताए ।

सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले पार्टीले यस अधिवेशनको प्रारम्भमा संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक र सम्पती शुद्धिकरणसम्बन्धी विधेयकलाई प्राथमिकतामा राखेको बताए । उनले आगामी विधेयकहरु पनि महत्वको आधारमा ल्याउने बताए । सरकारले कति विधेयकहरु ल्याउन सक्छ, त्यसमा पनि पार्टीभित्र लेखाजोखा हुने उनले बताए ।

उनले भने, ‘कति विधेयक सरकारले ल्याउन सक्छ, त्यसमा हामी लेखाजोखा गर्छौं । त्यसमा पनि महत्वपूर्ण टिआरसी विधेयक छ । मनी लाउण्डरिङ विधेयक छ । सुरक्षण मुद्रण सम्बन्धी विधेयक पनि आउँदैछ । त्यसमध्ये पनि अहिले देखिएको टिआरसी विधेयक र मनी लाउण्डरिङ विधेयकलाई विशेष केन्द्रबिन्दुमा राखेको पनि छ । अब आउने विधेयकहरु कुन–कुन महत्वपूर्ण हो त्यसमा विशेष छलफल पछि गर्नेछौँ ।’


क्लिकमान्डु