रास्वपाका सांसदले मेलम्ची आयोजनास्थलबाट घैलामा पानी बोकेर ल्याउने



मेलम्ची पानी नियमित आपूर्तिका लागि रास्वपाले दबाब कार्यक्रम गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले मेलम्ची खानेपानी आयोजनाबाट राजधानीमा नियमित पानी आपूर्तिको माग गर्दै दबाबमूलक कार्यक्रम गर्ने भएको छ ।

रास्वपा संसदीय दलको आजको बैठकले यही माघ २१ गते मेलम्ची बजारदेखि दबाबमूलक कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो ।

पार्टीका सचेतक निशा डाँगीले दबाबमुलक कार्यक्रम अनुसार मेलम्ची बजारबाट आयोजनास्थल पुगी घैलामा पानी बोकेर ल्याउने निर्णय भएको बताइन् । ‘दबाब कार्यक्रम अनुसार मेलम्ची बजारमा २१ जना सांसद सबै भेला भएर खाली घैलो लिएर आयोजनास्थल जाने र पानी भरेर फर्किने कार्यक्रम तय भएको छ’, सचेतक डाँगीले भनिन् ।

रास्वपाले हालै पूर्वाधारका अलपत्र रहेका आयोजनाको दबाब यात्रा गर्ने निर्णय गरेको छ । जसअनुसार पार्टीले यही माघ २१ गतेदेखि चैत २१ गतेसम्म दुई महिने दबाबमुलक कार्यक्रम गर्दैछ ।

पार्टीका सांसद बिनिता कठायतले सदन र संसदीय समितिको बैठक प्रभावित नहुने गरी पार्टीले कार्यक्रम गर्ने बताइन् ।

सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकमा गैरसरकारी विधेयकको तयारीबारे समेत छलफल भएको थियो । सचेतक डाँगीका अनुसार पूर्वनिधारित मुद्दाअनुसार आगामी अधिवेशनमा पार्टीले उठाउने मुद्दा, अधिवेशनको तयारी र पार्टीका सासदलाई विधेयकसम्बन्धी गरेको तयारीका विषयमा पनि आजको बैठकमा छलफल भएको थियो ।


क्लिकमान्डु