व्यवसायीमाथि अनुसन्धान गरे पनि धरपकड हुनु हुँदैन: परिसंघ अध्यक्ष अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले प्रहरीले व्यवसायीमाथि अनुसन्धान गर्न पाए पनि धरपकड गर्न नहुने बताएका छन् ।

बिहीबार उद्योगी अरुण चौधरी पक्राउ परेपछि निजी क्षेत्रको धारणा सर्वजनिक गर्न आयोजित कार्यक्रममा अध्यक्ष अग्रवालले प्रहरीले अनुसन्धानका लागि बोलाएको भए चौधरी आफैं उपस्थित हुने जनाए ।

‘सीआईबीले बोलाएको भए आफैं जानुहुन्थ्यो । अनुसन्धानलाई सहयोग गर्नु हुने थियो,’ उनले भने ,’पक्राउ गरेको छ, तर दोषी प्रमाणीत भएको छैन ।’ हठात् पक्राउ गर्दा प्रतिष्ठित उद्योगी व्यवसायीको मान प्रतिष्ठामा आँच आएको उनले बताए ।

आगामी दिनमा कसरी अघि बढ्ने भन्नेमा सबै निजी क्षेत्र एकै ठाँउमा बसेर छलफल गर्ने उनले बताए ।

यस्तै परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवालले व्यापारीलाई प्रहरीले बोलाएर सोध्ने हो भने सबै जवाफ दिन तयार हुँदा पनि त्यो अवसर व्यवसायीलाई नदिने गरिएको बताए । उनले आशंकाकै भरमा थुन्ने काम गर्दा निजी क्षेत्र हतोत्साहित हुने बताए ।

अग्रवालले जबसम्म दोषि सावित हुँदैन तबसम्म व्यवसायीलाई धुनामा राख्न नहुने धारणा राखे । भाग्ने सम्भावना नभएका व्यवसायीलाई पक्राउ गर्नु गलत भएको उनको भनाइ छ ।


क्लिकमान्डु