एनसेल खरिद बिक्री प्रकरणः ‘समितिले सेयर कसको नाममा छ भन्ने नछुट्याई प्रतिवेदन तयार पार्यो’



काठमाडौं । अर्थविद् डा. गोपीलाल न्यौपानेले एनसेल सेयर खरिद-बिक्री प्रकरणमा टंक शर्मा नेतृत्वको समितिले तयार गरेको प्रतिवेदन ठीक ढंगले नआएको दाबी गरेका छन् । उनले नेपालमा विदेशी लगानीलाई निरुत्साहित गर्नेगरी प्रतिवेदन तयार भएको आरोप लगाए ।

रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेपालको कर बढी भएकाले नैतिकवान मानिसहरु व्यवसायमा टिक्न नसकेको दाबी गरे । उनले सरकारलाई ट्याक्स कम गर्न सुझाव दिए । नेपालमा भ्रष्टाचार नियन्त्रण हुन नसक्नुको मूल कारण संविधान भएको उनको दाबी छ ।

वरिष्ठ अधिवक्ता प्रोफेसर डा. गान्धी पण्डितले एनसेल खरिदबिक्री प्रकरण छानविन गर्न बनेको समितिले प्रधानमन्त्री प्रचण्डसमक्ष पेश गरेको प्रतिवेदन विदेशी लगानीको वातावरणलाई धमिलो बनाएको दाबी गरेका छन् । रेनल्ड होल्डिङ् कम्पनीको स्वामित्वमा रहेको एनसेल आजियटाको सेयर कारोबार भएको भनेर उक्त प्रतिवेदनमा उल्लेख गरिएकोप्रति उनले आपत्ति जनाए ।

उक्त कम्पनीको सेयर कारोबार नभएर कम्पनी नै खरिद–बिक्री भएको उनले बताए । स्पेक्ट्रलाइट युके लिमिटेडले रिनल्ड होल्डिङ् लिमिटेडलाई नै किनेको उनको दाबी छ । अहिलेपनि कम्पनी रजिष्टार्ड कार्यालयमा रिनल्ड होल्डिङ लिमिटेडको नाममा एनसेल अजियाटाको नाममा ८० प्रतिशत सेयर रहेको दाबी गरे ।

एनसेलले सरकारलाई वार्षिक रूपमा ३५ देखि ४० अर्ब कर तिर्ने गरेको स्मरण गराउँदै उनले एनसेललाई दपेट्न सरकार नै लागिपरेको भन्दै आपत्ति जनाए । ‘एनसेल त एउटा उदाहरण मात्रै हो । यो देशमा विदेशी लगानी आउन असम्भव छ । विदेशी लगानी रहेका कम्पनीहरुले पनि अब यहाँ कारोबार गर्ने अवस्था छैन । एनसेलले नेपाल सरकारलाई वर्षमा ३५ देखि ४० अर्ब कर तिर्छ । जुन नेपालका १५ देखि २० जना ठूला व्यापारीले तिर्ने बराबर एउटा कम्पनीले तिरेको छ’ उनले भने,‘एनसेलजस्तो कम्पनीले गर्दा आज एनटिसीको पनि गुणस्तर राम्रो भएको छ । तर, आज एनसेललाई यहाँ बस्न दिएन ।’

एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानविन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्रतिवेदन बुझाइसकेको छ । समितिको संयोजक रहेका पूर्व महालेखापरीक्षक टंकमणि शर्मा, सदस्यहरु फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्लेले करिब दुई महिना लगाएर एनसेल खरिद–बिक्री प्रकरणको छानबिन र प्रतिवेदन तयार गरेका थिए ।


क्लिकमान्डु