बैंकको प्रतिफल घटेर मुद्दती निक्षेप बराबर



काठमाडौं । बजारमा पोहोर पुसमा बैंकहरुको मुद्दती निक्षेपमा औसतमा १२ प्रतिशत बढि ब्याजदर थियो । बैंकको मुद्दतीमा पैसा राख्ने ग्राहकले औसतमा १२ प्रतिशत प्रतिशत पाउँदा बैंकमा लगानी गरेका सेयरधनीले पनि औसतमा १२ प्रतिशत नै मात्र प्रतिफल पाए ।

यसले के देखाउँछ भने पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानी गर्नुभन्दा सोहि बैंकको मुद्दतीमा निक्षेप राख्दा बढि प्रतिफल आउँछ ।

बजारमा बैंक तथा वित्तीय संस्थाले धेरै कमाए भन्ने भाष्य बनाउँदै गर्दा पछिल्ला वर्षहरुमा अर्थतन्त्रमा देखिएको संकुचनको असरका कारण बैंक तथा वित्तीय संस्थाको रिटर्न अन इक्विटि (आरओई) नराम्रोसँग प्रभावित भएको हो ।

आरओई भनेको बैंक तथा वित्तीय संस्थाको कूल पुँजीमा (कोर क्यापिटल) प्रतिफल भन्ने बुझिन्छ ।

यसलाई अझ यसरी हेरौं, ग्लोबल आइएमइ बैंकको ६० अर्ब कूल पुँजी छ । ग्लोबल आइएमइ बैंकले पुसमसान्तमा २ अर्ब ४ करोड नाफा कमाएको छ । नाफा अर्बमा देखिँदा धेरैलाई बैंकले गज्जब कमाएछ भन्ने लाग्नु स्वाभाविक नै हो ।

तर, बैंकका सेयर लगानीकर्ताले पाउने प्रतिफल अर्थात् आरओई भने ७.४७ प्रतिशत छ । आजको मितिमा ग्लोबल आइएमइ बैंकको मुद्दती निक्षेपमा पैसा राख्ने ग्राहकले पनि औसतमा ७ प्रतिशतभन्दा बढि नै ब्याज आम्दानी गर्दछन् ।

त्यसैले नाफा अर्बमा देखिएका कारण बैंकले धेरै कमाए भन्नु वास्तवमा गलत हो । तर, बैंकका लगानीकर्ताले पाउने प्रतिफल पछिल्ला वर्षहरुमा नै घट्दै गएको छ ।

यसैक्रममा बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको ६ महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार पुस मसान्तमा बैंकहरुको प्रतिफल (आरओई) औषतमा ९.६२ प्रतिशत रहेको छ । जुन गत आवको पुस मसान्तको तुलनामा २१.८६ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैकहरुको प्रतिफल १२.३१ प्रतिशत रहेको थियो । पुसमसान्तमा औसत आरओई भन्दा पनि कम आरओई हुने ११ वटा बैंक रहेका छन् ।

चालु आर्थिक वर्षको ६ महिनामा १८ वटा बैंकको आरओई घटेको छ ।

बैंकहरुले प्रकाशित गरेको पुस मसान्तसम्मको वित्तीय अवस्था अनुसार प्राइम बैंकको आरओई बढेको छ भने कृषि विकास बैंकको आरओई गत आवको दोस्रो त्रैमासमा ०.७८ प्रतिशतले ऋणात्मक रहेको थियो । अहिले ८.०७ प्रतिशत रहेको छ ।
प्राइम बैंकको आरओई २७.०७ प्रतिशतले बढेर १६.१२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा १२.६९ प्रतिशत रहेको थियो ।

दोस्रो त्रैमासको वित्तीय अवस्था अनुसार १० प्रतिशत भन्दा बढी आरओई ८ वटा बैंकको रहेको छ भने बाँकी १२ बैंकको एकल अंकमा रहेको छ । सबैभन्दा बढी आरओई स्टयान्डर्ड चार्टर्ड बैंकको १९.६१ प्रतिशत रहेको छ । यो पनि गत आवको पुस मसान्तको तुलनामा ६.८८ प्रतिशतले कम हो ।

एभरेष्ट बैंकको १.१७ प्रतिशतले घटेर १४.२४ प्रतिशत रहेको छ । एनआईसी एशिया बैंकको आरओई १३.१३ प्रतिशत रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४९.४३ प्रतिशतले कम हो ।

नबिल बैंकको आरओई ९.२० प्रतिशतले घटेर १२.३३ प्रतिशत रहेको छ । सानिमा बैंकको आरओई २०.०२ प्रतिशतले घटेर १२.३० प्रतिशत रहेको छ ।

एनएमबि बैंकको आरओई ३१.०५ प्रतिशतले घटेर १०.३९ प्रतिशत रहेको छ । माछापुच्छे« बैंकको आरओई १०.०७ प्रतिशत रहेको छ । गत आवको सोही अवधिको तुलनामा २९.१८ प्रतिशतले कम हो ।

नेपाल एसबिआई बैंकको आरओई ९.६५ प्रतिशत रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३३.४४ प्रतिशतले कम हो ।

सिद्धार्थ बैंकको आरओई १३.१३ प्रतिशतले घटेर ९.२६ प्रतिशत, हिमालयन बैंकको ३.६५ प्रतिशतले घटेर ८.९७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ५४.१५ प्रतिशतले घटेर ७.८८ प्रतिशत, सिटिजन्स बैंकको १०.९५ प्रतिशतले घटेर ७.८६ प्रतिशत, ग्लोबल आइएमई बैंकको २९.७९ प्रतिशतले घटेर ७.४७ प्रतिशत आरओई रहेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आरओई १७.०९ प्रतिशतले घटेर ६.४०, लक्ष्मी सनराइज बैंकको ५५.४७ प्रतिशतले घटेर ५.६५, कुमारी बैंकको ३९.९७ प्रतिशतले घटेर ४.९७ प्रतिशत, प्रभु बैंकको ३८.५७ प्रतिशतले घटेर ४.६५ प्रतिशत र नेपाल बैंकको ५३.३८ प्रतिशतले घटेर ३.२४ प्रतिशत रहेको छ ।

आरओई घट्दै जान थालेपछि बैंकका सेयरधनीले समेत आफ्नो स्वामित्व घटाउन थालेका छन् ।

बैंकिङ क्षेत्रको प्रतिफल कमजोर हुन थालेपछि संस्थापक सेयरधनीहरु धमाधम बाहिरिन थालेका हुन् । बैंकहरुले प्रकाशित गरेको सूचना हेर्दा बैशाख यतामात्रै करिब १४० भन्दा बढी संस्थापक सेयरधनीले साढे ३ करोड बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । आरओई घट्न थालेपछि बैंकका ठूला सेयरधनीहरु आफ्नो लगानी डाइभर्ट गर्न थालेका छन् ।

हाल बैंकको प्रतिफल दर कम भएको, बैंकको खराब कर्जा बढ्न थालेको, बैंकभन्दा अन्यत्र आम्दानी राम्रो देखेका कारण बैंकका सेयरधनीहरु निरास बनेको र बाहिरिन थालेको जानकारहरुको तर्क छ ।


क्लिकमान्डु