अवैध ढुंगा उत्खननले पानीका मुहान सुक्दै, पहिरोको जोखिममा गाउँ



चितवन । चितवनको इच्छाकामना गाउँपालिका– १ स्थित चन्दली डाँडामा ढुंगा उत्खननसँगै पानीको मुहान सुक्न थालेका छन् । बिक्री–वितरण गर्ने उद्देश्यका साथ घर छाउने ढुंगा उत्खनन हुन थालेपछि पानीका मुहान सुक्दै जान थालेका हुन् ।

स्थानीय स्वास्थ्य चेपाङको नेतृत्वमा उक्त स्थानमा ढुंगा उत्खनन भइरहेको स्थानीय रेशम चेपाङले बताए। ‘अवैध रूपमा उक्त स्थानमा ढुंगा उत्खनन हुने गरेको छ । ती ढुंगा चितवनका विभिन्न होटेल निर्माण प्रयोजनका लागि प्रयोग गरिन्छन्,’ उनले भने।

अवैध रूपमा ढुंगा उत्खनन गर्न थालेपछि खानीको डाँडाभन्दा तल रहेका चेपाङ गाउँ गारघर, जैथली, चौकीडाँडा, साप्रेनी र बंग्ल्याङलगायतमा पहिरोको जोखिमसमेत बढेको छ । करिब २० वर्षअघि पनि उक्त स्थानबाट ढुंगा निकाल्दा पहिरो गएको थियो । पुनः सोही ठाउँबाट जथाभावी ढुंगा निकाल्न थालेपछि स्थानीयमा पहिरोको जोखिम बढेको भन्दै त्रास छाएको छ।

ढुंगा उत्खनन गर्दै गर्दा ती गाउँमा पिउने पानीको मुहान सुक्दै गएको रेशमले बताए। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ र वडाध्यक्ष सन्तबहादुर रानालाई जानकारी गराउँदा पनि कुनै चासो नदिएको भन्दै अनुगमनसमेत गर्न नआएको उनको भनाइ थियो।

ढुंगा उत्खनन कार्य रोक्न आग्रह गर्दा उत्खननको नेतृत्व गर्ने स्वास्थ्य चेपाङले चुप लागेर बस्न धम्की दिएको रेशमले बताए। उनले भने, ‘ढुंगा उत्खनन भएको थाहा पाएपछि गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षलाई जानकारी गराएँ, तर उहाँहरू अनुगमनमा आउनुभएको छैन । पानीको मुहान सुक्दै गएको र पहिरोको जोखिम भएकाले उत्खनन कार्य रोक्न वडासदस्य विक्रम चेपाङलाई आग्रह गरे पनि हालसम्म सुनुवाइ भएको छैन । ढुंगा उत्खनन गर्ने ठेकेदारले चुप लागेर बस्ने धम्की दिएको छ।’

तीन साताअघिदेखि अवैध रूपमा ढुंगा उत्खनन गरेको थाहा पाएपछि वडासदस्य चेपाङ सो स्थानमा निरीक्षणमा पुगेका थिए। गाउँपालिका अध्यक्ष गुरुङसँग यस विषयमा प्रतिक्रिया लिँदा उक्त स्थानमा ढुंगा उत्खननका लागि पालिकाले कसैलाई अनुमति नदिएको बताए। ‘हामीलाई पनि त्यहाँ ढुंगा निकालेको जानकारी आएको छ । आइतबार हामी निरीक्षणमा जाने तयारीमा छौँ,’ उनले भने।

यसैबीच श्री नागेन सामुदायिक उपभोक्ता समिति इच्छाकामना– १ ज्यान्दालाले विज्ञप्ति निकालेर ढुंगा उत्खनन कार्य रोक्न आग्रह गरेको छ। उक्त सामुदायिक वनभित्र रहेको सार्वजनिक जग्गाको ढुंगा उत्खननसँगै पहिरोको जोखिम बढेको र चन्दलीको टारसँग जोडिएको उक्त जग्गा मासिँदै गएको जनाइएको छ।

उक्त स्थानमा प्याराग्लाइडिङको सफल परीक्षणसमेत भएकाले पर्यटकीय गन्तव्यको रूपमा प्रचुर सम्भावना भएको वडासदस्यसमेत रहेका वन उपभोक्ता समितिका अध्यक्ष विक्रम चेपाङले बताए। ढुंगा उत्खननले प्याराग्लाइडिङलाई समेत असर पर्ने उनको भनाइ थियो।


क्लिकमान्डु