जहाजविहीन मनाङ एयरले १ अर्ब लगानीमा ३ हेलिकप्टर थप्दै, २ महिनापछि पुनः उडान



काठमाडौं । निजी क्षेत्रको हेलिकप्टर सेवाप्रदायक कम्पनी मनाङ एयरले करिब १ अर्ब रुपैयाँ लगानी गरेर ३ वटा हेलिकप्टर भित्र्याउने भएको छ । गत असोज २७ मा सोलुखुम्बुको लोबुचेमा दुर्घटनापछि जहाजविहीन भएको यो हेलिकप्टर कम्पनीले एक महिनाभित्रै हेलिकप्टर भित्र्याउने भएको छ ।

मनाङ एयरका प्रबन्धक तथा प्रवक्ता राजु न्यौपानेका अनुसार एउटा हेलिकप्टर आगामी फेब्रुअरी अन्तिमसम्म आइसक्ने छ । यो कम्पनीले खरिद गरेको एउटा हेलिकप्टर १५ दिन अगाडि नै नेपाल ल्याउने काम अगाडि बढिसकेको छ । हेलिकप्टर कार्गोमा आउने र यही ल्याएर जडान गरिने भएको छ । न्यौपानेका अनुसार उक्त हेलिकप्टर मार्च महिनाभित्रै उडाने गरी आवश्यक तयारी भइरहेको छ ।

गत असोजदेखि हेलिकप्टरविहीन भएको यो कम्पनीले दुई महिनापछि नियमित उडान गर्ने गरी तयारी गरिरहेको छ । अहिले पहिलो चरणमा एउटा हेलिकप्टर ल्याउने र सन् २०१४ भित्रै ३ वटा पुर्‍याउने गरी काम भइरहेको न्यौपानेले बताए । यो हेलिकप्टर कम्पनीले गत वर्ष सन् २०२३ मा ३ हजार ८७६ यात्रुलाई सेवा दिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसीआर)’मा १० औं संशोधन गरेर वायुसेवा सञ्चालन गर्न ३ वटा जहाज अनिवार्य हुनुपर्ने व्यवस्था गरेपछि पछिल्लो समय हेलिकप्टर कम्पनीहरूलाई एयरक्राफ्ट थप गर्न दबाब परिरहेको छ । यो व्यवस्थाले सञ्चालनमा आएका र जहाज संख्या कम भएका वायुसेवालाई ५ वर्षभित्रै न्यूनतम ५ वटा जहाज पुर्याउनुपर्ने समयसीमा प्राधिकरणले दिएको छ ।

प्राधिकरणको यो व्यवस्थापछि जहाजबिहिन भएकादेखि एउटा भएका २ वटा, २ वटा भएका, ३ र ४ वटा भएका २ हेलिकप्टर कम्पनीलाई दबाब परिरहेको छ । हाल प्राधिकरणबाट उडान सञ्चालन अनुमति पाएका १२ वटा हेलिकप्टरमध्ये कुनैसँग पनि ५ वटा हेलिकप्टर छैनन् ।

२ वटासम्म मात्रै एयरक्राफ्ट भएका ७ वटा हेलिकप्टर कम्पनीलाई भने तुरुन्तै जहाजको सख्ंया बढाउन चुनौति थपिएको छ । यो चुनौतिसँगै केही हेलिकप्टर कम्पनी पब्लिकमा गएर प्राथमिक शेयर निष्कासन (आइपीओ)सम्मको बिकल्पमा लागिसकेका छन्।

सर्वसाधारणलाई आइपीओ जारी गरेर पुँजी बृद्धि गर्दै हेलिकप्टर संख्या थप गर्ने रणनीत बनाएको वायुसेवामा कैलास हेलिकप्टर अरुभन्दा अगाडि देखिएको छ । यो हेलिकप्टर कम्पनीले आइपीओ जारी गरेर पुँजी संकलन गर्दै हेलिकप्टरको संख्या पनि बढाउने भएको छ । यो वायुसेवा कम्पनीले आगामी ६ महिनाभित्रमै आइपीओ ल्याउने गरी तयारी गरिरहेको छ ।


क्लिकमान्डु